शेयर सदस्य सहकारीका मेरुदण्ड हुन् :  सभापति अर्याल

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल-स्याङ्जा । सहकारीको सिद्धान्त अनुसार सहकारीहरु संचालन नहुँदा पछिल्लो समय संकटमा पर्दै आएका छन् । जब सहकारीमा संकट आउछ तब शेयर सदस्यहरु जिम्मेवार बन्नुपर्छ भन्ने तर्क गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले दिएका छन् । स्याङ्जाको वालिङ १३ झोलुङ्गेमा रहेको हिमाल बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधरणसभाको उदघाटन गर्दै सभापति अर्यालले शेयर सदस्य प्रत्येक सहकारीका मेरुदण्ड रहको बताएका हुन् । सहकारीका शेयर सदस्य खम्बा हुन् सभापति अर्यालले भने,‘सहकारी राम्रो बनाउने या विगार्ने शेयर सदस्यको हातमा हुन्छ ।’ त्यसैले प्रत्येक साधरणसभामा संचालक समितिले ल्याएको प्रतिवेदनमा घनिभुत छलफल गर्नु आवश्यक हुन्छ सभापति अर्यालले भने ।शेयर सदस्यहरुको चासो कम हुनु, नियमक निकायले अनुगमन नगर्नु, सहकारीको सिद्धान्त अनुसार सहकारीलाई संचालन नगर्नु सहकारी बिग्रने कारण रहेको सभापति अर्यालले बताए । सहकारीको अवधारणा निकै राम्रो भएको भएपनि केही खराब सहकारीका कारण राम्रा सहकारीहरु खराबमै गणना हुनु दुखद पक्ष रहेको बताए । बर्तमान समयमा सहकारीले झेल्नुपरेको समस्या समाधान शेयर सदस्यहरुबाटै हुने भएकाले सबै शेयर सदस्यहरु आफुले लगानी गरेको सहकारी प्रति चासो राख्न सभापति अर्यालले आग्रह गरे । नागरिकको आवश्यकता अनुसार प्रदेश सरकारले विकासमा जोड दिने गरी अगाडी बढेको समेत सभापति अर्यालले बताए ।

कार्यक्रममा वालिङ १३ का वडा अध्यक्ष नमलाल डुम्रे, लक्ष्मी माविका प्रधानाध्यापक सीता गैह्रे, घुरुङ्खा माविका प्रधानाध्यापक शिवहरी न्यौपाने, सहकारीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद डुम्रे, मिलन साकोसका अध्यक्ष गोविन्द न्यौपाने, उपकार बचत तथा ऋण सहकारीका उपाध्यक्ष यज्ञप्रसाद अधिकारी लगायतका बक्ताहरुले सहकारीहरु प्रति सबै संवेदनशिल बन्न आग्रह गरेका थिए ।संस्थाका अध्यक्ष प्रेमप्रसाद पराजुली, सचिव हेमन्तसिंह गुरुङ, कोषाध्यक्ष पुर्णचन्द्र गैह्रे, लेखा प्रतिवेदन पारिश्वर न्यौपानेले पेश गरेको प्रतिवेदन साधरणसभाले पास गरेको संस्थाका प्रवन्धक सागर गैह्रेले जानकारी दिए ।१२१५ शेयर सदस्य रहेको सहकारीले करिब १३ करोड पुँजी तथा दायीत्व रहेको छ । सहकारीले सामाजिक उत्तरदायीत्वमा एम्वुलेन्स सेवा संचालन गर्दै आएको छ भने सामुदायीक विकास कोषबाट ४ विद्यालयमा ११ हजार ४ सय रुपयै अक्षयकोष स्थापना गरेको छ । सदस्य राहत कोष स्थापना गरी शेयर सदस्यको घातक रोग र दुर्घट्ना विमा समेत स्थापना गरेको प्रवन्धक गैह्रेले बताए ।