यमलाल भुसाल- बुटवल , लगानी लुम्बिनीमा ,समृद्धि देशमा भन्ने नारा सहित शुरु भएको बुटवल औद्योगिक व्यापार मेलामा दर्शकहरुको उल्लेख्य सहभागिता भएको छ । पुस ३ गतेबाट शुरु भएको मेलामा ५ सय बढि स्टल , वाल उद्यान सहित राष्ट्रिय तथा स्थानिय कालाकारहरुले बुटवलको मेलामा दर्शक तानिरहेको छ । त्यस्तै ,बुटवल औद्योगिक व्यापार मेलाको प्रमुख आकर्षण बनेको छ, फिस टनेल । दबईमा रहेको समुन्द्र मुनी रहेको टनेलको झल्को दिने गरी बनाइएको फिस टनेल अहिले मेलाको प्रमुख आकर्षण बन्न पुगेको हो । औषत अन्य स्थानको तुलनामा विगतदेखीनै बुटवलको मेलामा धेरैको आकर्षणनै हुने गरेको छ । कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिन रहेको मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भैरहेका छन् । राष्ट्रिय तथा स्थानिय ख्याती प्राप्त कलाकारले बुटवल मेलामा दर्शक तानीरहेको भएपनि अधिकांश मेला पुग्ने सहभागीहरुको आकर्षण फिस टनेल बन्न पुगेको छ बताएका छन ।मेला हेर्न पुगेका स्थानिय प्रदिप खनाल, खुसी क्षेत्री र ज्योति शाहीले मेलामा पहिलो पटक ल्याईएको दुबई फिस एक्युरियम तथा फिस टनेल यस पटकको लागि नयां र हेर्न लायक रहेका बताएका छन । उनिहरुले दुबईमा हेर्न पाईने फिस टनेल बुटवलको मेलामा हेर्न पाउदा हर्षित भएको प्रतिक्रिया दिएका छन ।
दुबईको समुद्रमा हुने फिस टनेल बुटवलमा मात्रै नभएर नेपालमै नौलो हो । मेलामा पहिलोपटक ल्याइएको दुबईको समुन्द्रमा मात्रै हेर्न पाइने फिस टनेलको अवलोकन गर्ने र फोटो भिडियो छायाङ्कन गर्नेको घुइचो नै लागेको छ ।बुटवलको मेलामा ठेकेदार.कम्पनी नेपाल राजधानी एमुजमेन्ट राईड्स नेपालले बाल उद्यान सहित फिस टनेल सञ्चालन गरिरहेको व्यवस्थापक कृष्ण शर्मा पौडेलले बताउनु भयो । बुटवलको मेलामा सांगितिक कार्यक्रम संगै बाल उद्यानमा समेत उत्तिकै आकर्षण देखिन्छ । मेला स्थल दिउसँको समयमा भन्दा साझँ विभिन्न लाईटिङ्गले रोमाञ्चक देखिन्छ । मेलाको बाल उद्यान सञ्चालन गरिरहेको कम्पनीले मेला अवधिभरका लागि ५ सय बढि स्थानियलाई रोजगारी समेत दिईरहेको छ । यस्तै , प्रत्येक पटक लगाईने बुटवलको मेलालाई केही फरक बनाउने कोशिष गरिदै आइएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्यालको कथन छ । यस पटक विगत भन्दा केही पृथक र व्यवस्थित तरिकाले बुटवलको स्थायी प्रदर्शनी स्थल बुटवल मण्डपमा मेला लगाईएको हो ।
२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको यो २४ औं संस्करणको औद्योगिक व्यापार मेला हो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल–२०८१ चलिरहेको छ । १६ दिनसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल सहभागि छन् भने ५ लाख बढी दर्शकले अवलोकन गर्ने र मेला भित्र १५ करोड बढीको कारोवार हुने अनुमान गरिएको छ ।