वाणिज्य क्याम्पस र सानिमा रिलायन्स लाइफबीच एम.ओ.यु. सम्पन्न

प्रकाशित मिति:

पौष १२ । बुटवल – लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच शुक्रबार एक कार्यक्रमका माझ एम.ओ.यु. सम्पन्न भएको छ । लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा दुई संस्थाबीच आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो ।
लुम्बिनी वाणिज्य क्याम्पसका विद्यार्थीहरुलाई सानिमा रिलायन्स लाइफमा इन्टर्न गर्ने अवसरका साथै विभिन्न पदमा जब प्लेसमेन्टको अवसर पनि प्रदान गरिने सहमति पत्रमा उल्लेख छ ।क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा आर्थिक रुपले बिपन्न ४ जना विद्यार्थीहरुलाई इन्स्योरेन्सद्वारा छात्रवृत्ति प्रदान गरिने बताइएको छ भने वर्षको ४ वटा जीवन बीमा शिक्षा सम्बन्धी वृहत् सचेतना कार्यक्रमका लागि लुम्बिनी वाणिज्य क्याम्पसको सहयोग रहने समेत सम्झौतामा समेटिएको छ ।

काउन्सिलिङ, प्लेसमेन्ट एण्ड इन्टरप्रेनरसिप डेभलपमेन्ट सेल संयोजक उपप्राध्यापक मुकुन्द ज्ञवालीको सञ्चालन रहेको एम.ओ.यु. कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्याय र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट रिजनल म्यानेजर इन्द्र बहादुर बि.क.ले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो भने कार्यक्रममा क्याम्पसको तर्फबाट सहायक क्याम्पस प्रमुख उपप्राध्यापक महेश प्रसाद चौधरी कुर्मी, एम.वि.एस. कार्यक्रम इन्चार्ज उपप्राध्यापक डिल्लीराज गौतम, स्याट संयोजक उपप्राध्यापक पुनाराम घिमिरे र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट शाखा प्रमुखहरु प्रेम आचार्य, गौरव गौतम, प्रविन चन्द्र पौडेलको उपस्थिति रहेको कर्मचारी मोहन पौडेलले जानकारी दिनुभयो ।