प्रकाश न्यौपाने
पुस १३ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपाली भाषा शुद्ध लेखन प्रशिक्षण सम्पन्न भएको छ। बर्दघाट प्रज्ञा प्रतिष्ठानले बर्दघाट नगरपालिकाको भाषा, कला, र साहित्यको उजागर गर्दै आइरहेको छ ।
कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रज्ञाले साहित्यको प्रबर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गर्नु भयो । उहाँले प्रतिष्ठानले भाषा, कला, र साहित्यको जगेर्ना गर्दै बर्दघाटलाई राष्ट्रिय स्तरमा चिनाउने काम गरेको बताउनुभयो। “भाषिक शुद्धता र साहित्यिक गतिविधिको माध्यमबाट बर्दघाटको पहिचान थप मजबुत बनेको छ,” श्रेष्ठले भन्नुभयो। त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले गाेष्ठीकाे महत्त्व माथि प्रकाश पार्दै गाेष्ठीबाट कर्मचारी, सञ्चारकर्मी तथा शिक्षकहरूले लाभ लिन सक्ने धारणा राख्नु भयो ।
कार्यक्रममा सहजीकरण गर्दै प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेले लेखनमा हुने भाषिक त्रुटिहरूलाई सच्याउन यस्तो प्रशिक्षण महत्त्वपूर्ण रहेको बताउनुभयो। “नेपाली भाषामा धेरै शब्द सुन्दा एउटै लाग्ने भए पनि लेखाइ फरक हुन सक्छ, जसले अर्थमै परिवर्तन ल्याउन सक्छ,” न्यौपानेले जोड दिनुभयो। प्रशिक्षणले नेपाली भाषाको शुद्ध प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको र आगामी दिनमा यस्ता गतिविधि अझ व्यापक रूपमा सञ्चालन गर्ने प्रतिष्ठानको योजना रहेको कुलपति न्यौपानेले बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कुलपति डा. न्यौपानेले गर्नुभएको थियो भने कला, भाषा तथा साहित्य संयोजक हुमनाथ आचार्यले सहभागीलाई स्वागत गर्नुभएको थियो। प्रशिक्षण कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका, सामाजिक संघ संस्थाका प्रतिनिधि गरी ६० जनाको सक्रिय सहभागिता रहेको थियो।