नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटना बर्दघाट उद्योग वाणिज्य संघद्वारा आयोजित आठौँ बर्दघाट महोत्सवमा पहिलो पटक प्रदर्शन गरिएको आर्टिफिसियल फिस टनेल विशेष आकर्षणको केन्द्र बनेको छ। नयाँ प्रविधि र सिर्जनात्मक प्रयोगमार्फत महोत्सवमा आएका दर्शकहरूलाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले टनेल राखिएको हो।
आर्टिफिसियल फिस टनेलमा कञ्चन पानी भित्र विभिन्न प्रजातिका रंगीन माछाहरूलाई तैरिरहेको दृश्य अवलोकन गर्न सकिन्छ। यो दृश्यले विशेषगरी बालबालिका, युवा, र परिवारलाई आकर्षित गरिरहेको छ। दिनभरि टनेल हेर्नका लागि दर्शकहरूको घुइँचो देखिन्थ्यो। महोत्सवका आयोजकहरूका अनुसार आर्टिफिसियल फिस टनेल महोत्सवमा नयाँपन ल्याउनको लागि विशेष रूपमा तयार फिस टनेल ल्याइएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले उल्लेख गर्नु भयो । न्यौपानेका अनुसार, “विदेशी महोत्सवहरूमा देखिने यस्ता सिर्जनात्मक प्रयोगलाई हामीले यहाँ पनि भित्र्याएका छौँ। यो महोत्सवमा थप आकर्षणको केन्द्र बन्ने विश्वास छ।”
मेला घुम्न आएका दर्शकहरुले आआफ्नो टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जाल र डिजिटल माध्यममा टनेलका तस्बिर तथा भिडियो भाइरल भइरहेका छन्। बर्दघाट ११ कि अन्जु चौधरीले यस पटकको मेलामा फिस टनेल नया देख्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । ४३ बर्षीय चौधरीले अहिले सम्म फिस टनेल नदेखेको बताउदै भन्नु भयो,- मैले जिवनमा नै पहिलो पटक फिस टनेल देखे, माछासंगै फोटो खिचेर टिकटक बनाए ।” चौधरी मात्रै होइन बर्दघाट मेलामा जाने धेरैले फिस टनेल पहिलो पटक नै देखेको प्रतिक्रिया दिएका छन । फिस टनेलमा जाने र फोटो खिच्नेमा दर्शकहरु धेरै नै देखीएका छन ।