काठमाडौं, पुस – अहिले नेपालमा अनलाइन मार्फत हुने ठगी ब्यापक बनेको छ। अनलाइनबाट हुने ठगी दिनप्रति दिन बढेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले त्यस्ता ठगीबाट जोगिन सबैलाई सचेत गराएको छ। सिआईबीले विज्ञप्ति नै निकालेर केही दिनयता अनलाइन ठगी बढेकाले जोगिन अनुरोध गरेको छ। उसले केही दिनयता विभिन्न सामाजिक सञ्जालहरू, डिजिटल वालेट कम्पनी, बैंक तथा वित्तीय संस्थाबाट बोलेको भन्दै अपरिचित नम्बरबाट फोन र म्यासेज गरी प्रलोभनमा पारेर ठगी गर्ने क्रम बढेकाले सचेत रहन भनेको छ।
केही दिनयता फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर, इमो लगायत विभिन्न सामाजिक सञ्जालहरू, इसेवा, खल्ती जस्ता वालेट तथा बैंकरबित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरबाट फोन वा म्यासेज गरी नेपाल सरकारका कर्मचारीहरू तथा आम सर्वसाधारणलाई धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी हुने गरेका घटनाप्रति यस ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता प्रकृतिका अनलाइन ठगीबाट बच्न अनुरोध छ, सिआईबीले जारी गरेको विज्ञप्तिमा भनिएका छ।हालसालै पोखरामा ५७ लाख रूपैयाँ, चितवनमा १६ लाख रूपैयाँ, नेपाल सरकारमा कर्मचारीहरूको ५ लाख ५० हजार रूपैयाँ, विभिन्न कम्पनी तथा सर्वसाधारणहरूको करोडौं रकम ठगी गरिएको सम्बन्धन सिआइबीले अनुसन्धान गरिरहेको पनि जनाएको छ।
सिआइबिले इसेवा, खल्तीजस्ता वालेट, बैंक तथा वित्तीय संस्थाको लोगोसमेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटकपटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईँको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटिपी माग गर्नेहरूसँग सावधानी हुन अनुरोध गरेको छ।सावधानी नभए क्षणभरमा नै उक्त वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेटमा वा बैंक खातामा ट्रान्सफर हुने भनी सजग पनि गराएको छ।यस्तै सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेज पठाउने र विभिन्न किसिमका एआइले बनाएको आवाजबाट कल गरी तपाईँको सामान आएको छ, तपाईँलाई फाइदा हुने खालको व्यापार छ भन्नेजस्ता लिङ्क पठाई खोल्न लगाउने र लिङ्क खोल्नेबित्तिकै युजरनेम र पासवर्डमा पहुँच पुर्याएर पैसा रकमान्तर गर्ने गरेको भन्दै त्यसतर्फ पनि सावधानी हुन सिआइबीले अनुरोध गरेको छ।
अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने अवस्थासमेत रहेको प्रहरीले जनाएको छ।यस्ता कार्यमा यस्तो कार्यमा हालसम्म पाँच सयभन्दा बढी फोन नम्बर सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएका फोन तथा म्यासेज नउठाउन तथा उत्तर नदिन पनि सिआइबीले सबैमा अनुरोध गरेको छ।