साई ग्लोबल कपः रूपन्देही क्याम्पस ३ विकेट र काशी नोबल ६१ रनले विजयी

प्रकाशित मिति:

भैरहवा, पुस  । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएका दुई खेलमा रुपन्देही क्याम्पस र काशी नोबल उच्च मावि विजयी भएका छन् । रुपन्देही क्याम्पसले रुपन्देही लीलाराम न्यौपाने उच्च माविलाई ३ विकेट र काशी नोबलले सेन्टजोसेफ कलेजलाई ६१ रनले पराजित गर्दै जित निकाल्न सफल भएका हुन् । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लीलारामले मौसमका कारण १७ ओभरमा झारिएको खेलमा १५ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १ रन बनायो । जसमा हरिकेष मुराउ र मर्सो खानले समान १२ र विजय कोहार, अबुहम्जा खान तथा अर्जुन करोसले समान १०–१० रन जोडे । बलिङमा रुपन्देही क्याम्पसका जितेन्द्र शाहनी र सत्यमसिंह क्षेत्रले ३–३ तथा सन्तोष यादव र बाबुलाल केवटले १–१ विकेट हात पारे ।

रुपन्देही क्याम्पसले १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रन बनाउँदै जित किाल्यो । उसको जितमा इमरान खानले ३६, जितेन्द्र शाहनीले १९ र सन्तोष यादवले १७ रनको योगदान गरे । बलिङमा लीलारामका फैजन खानले ३, गुल्शनकुमार कुर्मीले २ तथा हरिकेष मुराउ र रमेश कुर्मीले १–१ विकेट लिए । खेलमा सत्यमसिंह क्षेत्री प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ पाए ।दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको काशी नोबलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रन बनायो । उसका लागि आदित्य शर्माले ३५, सेजाद आलमले २२, अविश अधिकारीले १७ र सुमन पाण्डेले ११ रन बनाए । बलिङमा सेन्टजोसेफका ईश्वर कुमारले २ तथा ओस्म खान, प्रतीक सावत र सन्दीप मौर्यले १–१ विकेट लिए ।जवाफी ब्याटिङ गरेको सेन्टजोसेफ ११ ओभर ४ बलमा ४७ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न काशी नोबलका सुप्रित घिमिरेले ३ तथा सेजाद आलम, आदित्य शर्मा र सुमन पाण्डेले समान २–२ विकेट लिए । सन्दीप मौर्य र ओस्म खानले समान १० रन बनाए पनि सेन्टजोसेफका अन्य खेलाडीले दोहोरो अंकमा रान बटुल्न सकेनन् र टिमले हार ब्याहोर्यो । खेलमा आदित्य शर्मा प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।