विद्यार्थीहरूद्वारा विद्यार्थीलाई न्यानो पोसाक वितरण

प्रकाशित मिति:

प्रकाश न्यौपाने
पुस २८ गते
नवलपरासी । जाडो मौसम सुरु भएसँगै बालबालिकालाई न्यानो कपडा वितरण गर्ने अभियान अन्तर्गत दिव्यज्योती बहुमुखी क्याम्पसका विद्यार्थीहरूले बर्दघाट-२ मा रहेको आम्बास प्राथमिक विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गरेका छन्।


दिव्यज्योती बहुमुखी क्याम्पसमा अध्ययनरत बिबिए (BBA) पाँचौं सेमेस्टरका विद्यार्थीहरूले खाजा खर्च कटौती गरी सहयोग रकम संकलन गरेका थिए। विद्यार्थीहरूको यो पहल समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित गरिएको हो। विद्यार्थी प्रतिनिधि विक्रान्त भण्डारीका अनुसार न्यानो टोपी वितरण गरिएको छ।


न्यानो पोसाक वितरण कार्यक्रममा शिक्षक, स्थानीय बुद्धिजीवी, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरूकै पहलमा भएको यस कार्यले सामाजिक उत्तरदायित्व वहन गर्ने संस्कारलाई प्रवर्द्धन गरेको छ। ‘हामीले समाजबाट धेरै कुरा सिक्छौँ, यसलाई फिर्ता गर्ने एउटा सानो प्रयास हो’, एक विद्यार्थीले भने। स्थानीय विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा पाएपछि खुशी व्यक्त गरेका थिए।


विद्यालयका प्रधानाध्यापक बाबुराम पौडेलले विद्यार्थीहरूको सहयोग अभियानलाई धन्यवाद दिँदै भने, “युवाहरूले सामाजिक कार्यमा देखाएको चासो र सक्रियता प्रशंसनीय छ। यसले अन्य विद्यार्थीहरूलाई पनि प्रेरित गर्नेछ।”


विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटौती गरेर संकलित रकममार्फत अरू विद्यार्थीहरूलाई सहयोग गर्नु सकारात्मक र प्रेरणादायी कार्य हो। यस्ता सामाजिक अभियानहरूले सामुदायिक भावना जागृत गराउने मात्र नभई दिगो सहयोगको संस्कृति विकास गर्न पनि मद्दत गर्ने देखिन्छ।