पुस २७ बुटवल । समाजलाई एकताको सुत्रमा बाँध्दै आपसी सद्भाव र भाईचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले गुल्मी खर्ज्याङ्ग रुपन्देही सम्पर्क समाजद्वारा तिलोत्तमाको बनबाटिकामा भव्य र सभ्य रूपमा वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
खर्ज्याङ्गका करिब १५० जनाको उत्साहजनक उपस्थिति रहेको यस कार्यक्रममा खर्ज्याङ्गको मौलिक संस्कृति, परम्परा र सामाजिक सहकार्यको उजागर गरिएको थियो।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष राजिव कुँवरले गररेका थिए भने, प्रमुख अतिथिका रूपमा जेष्ठ नागरिक रामजी पौडेलले आफ्नो प्रेरणादायी भनाइ प्रस्तुत गरेका थिए ।
विशिष्ट अतिथि रविराज ज्ञवालीले खर्ज्याङ्ग क्षेत्रको समृद्ध इतिहास र सांस्कृतिक सम्पदालाई स्मरण गर्दै समाजले सञ्चालन गर्ने कार्यक्रमहरूले आफ्नो ठाउँप्रतिको लगाव र जिम्मेवारीलाई अझ सुदृढ बनाउने र नयाँ पुस्तालाई समाजप्रतिको उत्तरदायित्वबोध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
सल्लाहकार धर्मराज पौडेल, ईश्वरी पाण्डे, टिकाराम गौतम, र संस्थापक अध्यक्ष बद्री घिमिरेजस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो।
कार्यक्रमका संयोजक महेश घिमिरे (केदारले) कार्यक्रमको सफलतामा सबै सदस्यहरूको सहकार्य र योगदानप्रति आभार व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
यसैगरी, कार्यक्रमको सञ्चालन गर्दै भुवन पन्थले उपस्थित सबैलाई आफ्ना साहित्यिक र आकर्षक शब्दहरूले मन्त्रमुग्ध बनाए । सम्पर्क समाजले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै समाजको एकतालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउँदै कार्यक्रमको सफल समापन गरेको छ।