शिक्षकको पिटाइबाट बालकको आँखा गुमेको घटनामा नेविसंघको ध्यानाकर्षण

प्रकाशित मिति:
प्रकाश न्यौपाने
माघ १ गते
नवलपरासी
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ स्थित एच पाठशालामा शिक्षिकाको पिटाईबाट युकेजीमा अध्ययनरत ६ वर्षीय बालकको एउटा आँखा गुमेको घटनाप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्य समिति, पश्चिम नवलपरासीले गम्भीर ध्यानाकर्षण जनाएको छ।


नेविसंघले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कडा शब्दमा भर्त्सना गरेको छ। साथै, यस्तो गम्भीर घटनाका बाबजुद कुनै कानूनी प्रक्रिया अगाडि नबढाइएको भन्दै आपत्ति प्रकट गरेको छ । नेविसंघका जिल्ला अध्यक्ष कमल बस्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “स्थानीयदेखि केन्द्रीय सञ्चारमाध्यममा समाचार व्यापक रूपमा आएको भए पनि सम्बन्धित निकायले कारबाही अघि नबढाउनु लापरबाही र दण्डहीनताको चरम रूप हो।”


विज्ञप्तिमा पीडित बालकको शैक्षिक न्याय सुनिश्चित गर्न र दोषी शिक्षिकालाई कानूनअनुसार कारबाही गर्न माग गरिएको छ। साथै, नेविसंघले घटनाका सम्बन्धमा चाँडो कदम चाल्न स्थानीय प्रशासन, विद्यालय व्यवस्थापन समिति, र शिक्षा समन्वय इकाई कार्यालयलाई आग्रह गरेको छ। घटनाले सामाजिक र शैक्षिक क्षेत्रको गम्भीर कमजोरी उजागर गरेको भन्दै नेविसंघले यस्ता घटनालाई दोहोरिन नदिन कडा कदम चाल्नुपर्नेमा जोड दिएको छ।


बालकको आँखा गुम्नु र शिक्षण संस्थामा यस्तो क्रूर घटना हुनुले बाल अधिकारप्रति राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको नेविसंघले जनाएको छ। साथै, पीडित बालकको भविष्य सुरक्षित बनाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने भन्दै नेविसंघले चेतावनीसमेत दिएको छ।

घटनाप्रति समाजका विभिन्न पक्ष मौन रहेको र यसले दोषीलाई उन्मुक्ति दिन सक्ने अवस्था सिर्जना भएको नेविसंघको ठहर छ। यस घटनाले बालबालिकाको सुरक्षाका लागि तत्काल नयाँ नीतिहरूको आवश्यकता रहेको बताइएको छ।नेविसंघले पीडित बालक र उनको परिवारलाई न्याय दिलाउन जनस्तरमा दबाब सिर्जना गर्ने योजना रहेको जनाएको छ। साथै, यस विषयलाई बेवास्ता गर्ने जो कोहीलाई नेविसंघले कानूनी र सामाजिक रूपमा सामना गर्नुपर्ने चेतावनी दिएको छ।


घटनामा शिक्षा समन्वय इकाइ कार्यालय, स्थानीय प्रशासन, र विद्यालय प्रशासनले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।