त्रिशूली जलविद्युत् केन्द्रमा आगलागी

प्रकाशित मिति:

१९ पुस, नुवाकोट । जिल्लाको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ । २१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारणलाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ ।बुधबार साँझ ६ः३० बजेतिर उक्त उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नं। ६ मा रहेको ६ दशमलव ६ केभीको जेनेरेटर जलेर पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख तारदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार आगलागीले क्षति पुर्याएका उपकरण मर्मत र परिवर्तन गर्न रु एक करोडभन्दा बढी लाग्ने देखिएको छ भने सञ्चालनका लागि करीब एक साता लाग्ने अनुमान छ ।उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा ल्याउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकलसहित स्थानीयवासीलाई एक घण्टाभन्दा बढी समय लागेको थियो । आगलागीका कारण उक्त केन्द्रबाट विद्युत् उत्पादन बन्द हुँदा नुवाकोटसहित रसुवा र धादिङका केही स्थानमा विद्युत बन्द भएकाले राष्ट्रिय प्रसारणलाइनमार्फत गएरातिदेखि विद्युत उपलब्ध गराइएको छ । उक्त उत्पादन गृहमा गत असार २६ र मंसिर ८ गते पनि आगलागी भएको थियो ।