नवलपरासीमा १६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने
नवलपरासी– पश्चिम नवलपरासीमा माघ २२ देखि २८ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। यो अभियानअन्तर्गत जिल्लाका १६ हजार २९३ जना किशोरीलाई एचपीभी (ह्युमन पेपिलोमा भाइरस खोप लगाइनेछ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालका अनुसार, ६ देखि १० कक्षा अध्ययनरत र १० देखि १४ वर्षका विद्यालय बाहिर रहेका किशोरीलाई खोप दिइनेछ। यसका लागि २ सय विद्यालयमा खोप केन्द्र सञ्चालन हुनेछ। नेपाल सरकारले निःशुल्क प्रदान गर्न लागेको यो खोपको बजार मूल्य करिब ६ हजार रुपैयाँ पर्छ। अध्ययनअनुसार, एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर ९०% सम्म घटाउन प्रभावकारी छ।जसका लागी खोप स्वास्थ्यकर्मी २ सय ५ जना र स्वयंसेवक ३ सय ८ जना खटिने छन् । जसका लागी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतसंग अभिभुखिकरण गर्ने काम सम्पन्न भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पालिका स्तरीय र वडा स्तरीय खोप समन्वय समिति मार्फत कोही पनि खोप अभियानमा नछुटुन् भन्ने उद्देश्यले प्रचारप्रसार भइरहेको र सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविका घर घरमा पुगेर समेत खोप अभियानमा छुटेका किशोरीहरूलाई सामेल गराउने गरी तयारी भइरहेको स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।पाठेघरको मुखको क्यान्सर विरुद्ध ०.५ एमएल खोप किशोरीहरूको बाँया पाखुराको माथिल्लो भागमा लगाइन्छ । खोपले कसैकसैलाई सामान्य ज्वरो आउने, टाउको दुख्ने हुन सक्ने भएपनि अन्य समस्या नदेखिने बताईएको छ । त्यस्तै बर्दघाट नगरपालिकामा ३२ सय किशोरीलाई खोप लगाउने योजना रहेको छ।
नगर स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार, ३८ वटा खोप केन्द्र तोकिएको छ। खोप वडा नं. ५ मा रहेको माकर स्वास्थ्यचौकी भण्डारण गरिने ज्ञवालीले जानकारी दिनु भयो।बर्दघाट नगरमा यही माघ २२ गतेदेखि शुरु हुने किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान– २०८१ का लागि नगरमा ३८ वटा केन्द्रहरू निर्धारण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट सङ्क्रमित हुने र हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरू यो रोगको कारणले मृत्यु हुने गरेको छ ।