प्रकाश न्यौपाने
माघ १५ गते
नवलपरासी । हिमालयन बैंकले गुण्डा गर्दी शैलीमा गाडी हत्याउन खोजेपछि बैकिङ्ग प्रणालीमा नै विश्वासका सङ्कट उत्पन्न भएका छ। हिमालयन बैङ्कमा नै कर्जा नभएको गाडी बैंकले हत्याउन अपरिचित व्यक्ति प्रयोग गरेको छ। हिमालयन बैंक लिमिटेडले सडकमा गुण्डा परिचालन गरेर ‘दादागिरी’ प्रदर्शन गरेको छ । रूपन्देहीको देवदहमा बीच सडकमा गुडिरहेको गाडीलाई रोकेर अभद्र व्यवहार गरेको भन्दै पीडित व्यक्तिले ईलाका प्रहरी कार्यालय खैरेनीमा उजुरी दर्ता गराएपछि घटना सार्वजनिक भएको हो ।
पश्चिम नवलपरासीको सुनवाल नगरपालिका वडा नम्बर १२ निवासी लोक गायक भरत बहादुर पौडेल क्षेत्रीको बाग्मती प्रदेश ०१ – ०२६ च २१४६ नम्बरको गाडी यात्रामै रहेका बखत रूपन्देहीको खैरेनीमा दुईजना ब्यक्तिले रोकेर चाबी खोसेका हुन् । गाडीको चाबी खोसिएपछि क्षेत्री अचम्भित परे र केही त्रसित पनि बने । श्रीमान श्रीमती यात्रामा रहेका वेला नचिनेका मानिसले एक्कासि गाडी रोकेर चाबी थुतेपछि उनी कतै आफूलाई अपहरण गर्न खोजिएको हो की भन्ने आशङ्काले निकै डरमा परे । गाडी रोकेर चाबी थुत्ने मानिसले यो गाडी हिमालयन बैँकले तानेको छ हामीले गाडी लिएर जान्छौं भनेपछि उनी झनै तिन छक परे ।
क्षेत्रीको गाडी र हिमालयन बैँक सँग कुनै सरोकार छैन । उनले गाडी प्रभु बैङ्कबाट हायर पर्चेज कर्जा लिएर लिएका हुन् । उनले ति युवालाई बैङ्कको परिचयपत्र देखाउन आग्रह गरे तर उनीहरूसँग परिचय पत्र थिएन । प्रभु बैँकमा लोनमा रहेको गाडी हिमालयन बैँकले गुण्डागर्दी शैलीमा व्यक्ति परिचालन गरेर चाबी खोस्ने हकर्त गरेको छ । युवाहरूले अलि अस्वभाविक र गुण्डागर्दी शैली देखाएपछि उनले इलाका प्रहरी कार्यालय खैरेनीमा खबर गरेर प्रहरीलाई बोलाए । प्रहरीले दुवै युवा लाई इलाका प्रहरी कार्यालयमा लिएर गयो । ति युवाहरूको साथमा बैङ्कले गाडी तान्नका लागि गरिएको कन्ट्रयाक्ट पेपर र तान्नुपर्ने गाडिको नम्बर सहितको लिस्ट थियो ।
एउटा बैँकमा रहेको गाडी अर्कै बैँकले गुण्डागर्दी शैलीमा तान्न खोज्नुले हिमालय बैँकको गुण्डागर्दी शैलीको पर्दाफास भएको छ । घटनाको बारेमा प्रहरी सँग जानकारी लिँदा गाडी दुई वर्ष अगाडिनै हिमालयन बैँक बाट प्रभुमा आएको देखिएको र युवाहरूले अराजक शैली प्रदर्शन गरेर गाडी तान्न खोजेको इलाका प्रहरी कार्यालय खैरेनीले जानकारी दियो । यस विषयमा हिमालयन बैँक केन्द्रिय कार्यालयका सूचना अधिकारी सुनिल गोर्खालीले बैँकका कर्मचारीहरू फिल्डमा खटेर गाडी नियन्त्रणमा लिन सक्ने अवस्था नभएको र यसका लागि ट्राफिक प्रहरी सँग सहयोग माग्दा पनि सहयोग नपाएपछि बैङ्कले त्यस्तै खालका युवा संग कन्ट्रयाक्ट गर्नुपर्ने अवस्था आएको बताए ।
उनले भरतपुर शाखाले गाडीको कर्जा लिएका पटक पटक ताकेता गर्दा पनि भुक्तानी नभएका ऋण असुलीका लागि रामेछापका सन्दिप लामा सँग कन्ट्रयाक्ट गरेको बताए । लामालेनै क्षेत्रीको गाडीको चाबी थुतेका थिए । प्रभु बैँकको गाडी किन हिमालयन बैङ्कले तान्ने ? भन्ने प्रश्नमा उनले गाडी नम्बर टिप्ने समयमा गल्ती भएको बताए । कर्जा असुलीका लागि कन्ट्रयाक्टनै गरेर गुण्डा गर्दी शैलीमा व्यक्ति खटाउनुले बैँक माथी आम नागरिकले गुमाएको भरोसा झनै खस्किएको छ ।