हिमालयन बैंक बिरुद्द गायक क्षत्री कानूनी उपचारमा जाने

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
माघ १६ गते 

नवलपरासी। बैंकमा लोन नै नभएको गाडीकाे किस्ता नतिरेको भन्दै हिमालय बैंकले गाडी तान्न खोजे पछि लोक तथा दोहोरी गायक भरत क्षत्री असुरक्षीत महसूस गरेका छन। बैंकिङ प्रणालीमा विश्वास खस्काउने गरी हिमालयन बैंकको लापरबाहीपूर्ण कार्यको शिकार भएका क्षत्री कानूनी उपचारको लागि अगाडि बढ्ने घोषणा गरेका छन्।


बैंकको यस्तो कार्यले आफूलाई असुरक्षित बनाएको भन्दै क्षेत्रीले कानूनी उपचारका लागि अगाडि बढ्ने बताए। “अब म कानूनी उपचार खोज्छु। प्रहरीमा जाहेरी दिइसकेको छु।”

क्षत्रीले बैंकके मानसिक र शारीरिक तनाव दिएको र आफू असुरक्षित भएको भन्दै मंगलबार इलाका प्रहरी कार्यालय देवदहमा जाहेरी दर्ता गराएका छन्। बैंकले गल्ती स्वीकार्दै मिलेर समाधान गर्ने प्रस्ताव राखे पनि आफूलाई निरन्तर असुरक्षित महसुस भएको र केही दिनदेखि निगरानीमा राखिएको उनले बताएका छन्। “मलाई बैंकले केही दिन देखी नै निगरानीमा राखेको रहेछ, म र श्रीमती भएको बुटवल जाने क्रममा देवदहकाे जङ्गलमा ओभर ट्याग गर्दै लोन नै नभएको बैंककाे किस्ता किन नतिरेको भन्दै मेरो गाडीकाे चाबी खोजियो। यो घटनाले मैले असुरक्षित महसुस गरेको छु।” क्षत्रीले भन्नु भयो।


बैंकले खटाएका अपरिचित व्यक्तिहरूले क्षत्रीलाई केही दिनदेखि पछ्याइरहेको र उनको गाडीकाे लिटमा समेत नाम रहेको छ। “हामीले गाडी लान्छौं, यो गाडी हिमालयन बैंकले तानेको हो,” ती व्यक्तिहरूले भनेपछि क्षेत्री अचम्ममा परे। आफूलाई अपहरण गर्न खोजिएको हो कि भन्ने डर पनि लागेको क्षत्रीले बताए। “म कलाकार जस्तो मान्छे विभिन्न ठाउँका मेला महोत्सवमा हिँडिरहनु पर्छ। म हिँडिरहेको बेला मेरो सुरक्षाको ग्यारेन्टी कहाँ छ?” उनले प्रश्न उठाएका छन् ।


कर्जा नै नभएको बैंकले कर्जा नतिरेको भनेर बीच बाटोमा गाडी तानेपछि क्षेत्रीले मानसिक तनाव भएको बताएका छन्। “मलाई के र किन बैंकले यसरी मानसिक तथा शारीरिक तनाव दियो मैले अहिलेसम्म जानेको छैन तर वास्तविक चाहिँ मेरो हिमालयन बैंकमा कुनै पनि कर्जा छैन।” उनले भने ।


प्रभु बैंकमा कर्जामा रहेको गाडी हिमालयन बैंकले तान्न खोज्नु नै हिमालयन बैंकको लापरवाही देखिएको छ । क्षेत्रीका अनुसार उनले उक्त गाडी प्रभु बैंकबाट हायर पर्चेज कर्जा रहेको छ। तर, हिमालयन बैंकका प्रतिनिधिको परिचयसमेत नखुलेका ती व्यक्तिहरूले गाडी नियन्त्रणमा लिन खोजेपछि क्षत्रीले प्रहरीलाई खबर गरेका थिए।


प्रहरी अनुसन्धान अनुसार, ती व्यक्तिहरूसँग गाडी तान्न बैंकबाट गरिएको सम्झौता पत्र र तान्नुपर्ने गाडीहरूको सूची थियो। तर, अनुसन्धान गर्दा क्षेत्रीको गाडी हिमालयन बैंकसँग कुनै सम्बन्ध नरहेको पुष्टि भयो।


हिमालयन बैंकको स्वीकारोक्ति : ‘गल्ती भयो’

 हिमालयन बैंकका कर्मचारीसँग बुझ्दा बैंकबाट सामान्य गल्ती भएको स्वीकारेका छन्। घटनापछि हिमालयन बैंकका सूचना अधिकारी सुनिल गोर्खालीले गाडी नम्बर टिप्ने क्रममा गल्ती भएको स्वीकार गरे। उनले कर्जा असुलीका लागि रामेछापका सन्दिप लामासँग सम्झौता गरिएको र लामा नै उक्त गाडी नियन्त्रणमा लिन गएका थिए।

“हाम्रो कर्मचारीहरू फिल्डमा जान सक्ने अवस्था नभएपछि ट्राफिक प्रहरीसँग सहयोग माग्यौं, तर पाएनौं। त्यसैले यस्तो गर्नुपर्‍यो,” गोर्खालीले भने।तर, बैंकको गलत सूचीका कारण निर्दोष व्यक्ति पीडित बनेपछि सर्वसाधारणमा बैंकिङ प्रणालीप्रति शंका बढेको छ।


बैंकिङ प्रणालीमा संकट : नागरिकको सुरक्षा खोई?

गाडीको कर्जा प्रभु बैंकमा भए पनि हिमालयन बैंकले बाहिरी व्यक्तिहरू प्रयोग गरेर जबरजस्ती गाडी नियन्त्रणमा लिन खोज्नु कानूनी दृष्टिकोणले आपत्तिजनक रहेको कानूनी जानकारहरू बताउँछन्।


इलाका प्रहरी कार्यालय खैरेनीका अनुसार गाडी कब्जा गर्ने प्रयासमा संलग्न व्यक्तिहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ। साथै, बैंकबाट लिइएको सम्झौता पत्रसमेत संकलन गरिएको छ । विशेषज्ञहरूका अनुसार बैंकहरू कानूनी प्रक्रियामार्फत मात्र कर्जा असुली गर्न सक्ने प्रावधान छ। तर, हिमालयन बैंकले अपनाएको शैलीले बैंकिङ प्रणालीमै अविश्वास बढाएको छ।