प्रकाश न्यौपाने
माघ १६ गते
नवलपरासी । माघे औँसीका अवसरमा हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा श्रद्धालु भक्तजनको घुईचो लागेको छ । प्रत्येक बर्ष माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लाग्ने गरेको छ।
भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान गर्न र पूजापाठ गर्न आएका छ्न । शुक्रबारदेखि नै आएका भक्तजन त्रिवेणी धाममा दर्जनौँ मठमन्दिरमा रातभर भजनकीर्तन गरेर रात कटाएका छन्। त्रिवेणी धाम क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन गरेको तथा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको मेलामा शनिबार बिहानैदेखि पूजापाठ र भजनकीर्तन गर्नेको घुइँचो लागेको हो।
मेलाको भीडभाडमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको सङ्ख्या पनि बढाइएको छ भने उद्धारका लागि स्वास्थ्यकर्मी र प्रहरीको उद्धार टोली पनि खटिएको बताईएको छ ।माघे औँसीमा त्रिवेणी धाममा स्नान गर्न देवतासमेत आउने जनविश्वास रहेकाले औँसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहिआएको छ ।
स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीधाम भएकाले र महिनामा माघ श्रेष्ठ महिना भएका कारण औँसीका अवसरमा बाबुआमा नहुनेले यहाँ श्राद्ध गर्ने र दान दिने चलन रहि आएको छ। त्रिवेणी धाम त्रेता युगमा वाल्मीकी ऋषिको तपोभूमि, लवकुशको जन्मस्थल, सीतामाता धर्तीमा पाताल प्रवेश गरेको स्थल भएकाले यो स्थान प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल हो।
परापूर्वकालमा हात्ती र गोहीको लडाइँमा भगवान् नारायणले अवतार लिएर हात्तीलाई मोक्ष दिलाएको कारण यस धामलाई गजेन्द्र मोक्ष धाम भन्ने गरिएको जनविश्वास रहँदै आएको छ।हजारौ श्रद्धालु भक्तजनका कारण सवारी साधनको चापले पुरै सडक भरिभराउ छ । ट्राफिक ब्यवस्थापनमा समेत कठिनाई देखिएको छ ।