प्रकाश न्यौपाने
माघ १७ गते
नवलपरासी । नेताले चुनावी भाषण गर्दै गाउँगाउँमा हिँडिरहेका थिए। ती नेताको लहैलहैमा लाग्ने केही युवा जमात पनि थियो। नेताको भाषणबाट मख्ख परेका युवा जमातले आफू वैदेशिक रोजगारीमा समेत नगएर नेपालमै केही गर्ने अभिलाषा नेताको भाषणबाट पलाएको देखिन्थ्यो।
अब छोराले केही काम गर्छ, आफूलाई सहयोग गर्छ र बुढेसकालको सहारा बन्छ भनेर बसिरहेका बाउ छोरो वैदेशिक रोजगारीमा नजाने भएपछि निकै चिन्तित देखिन्थे । छोरो विदेश जान्छ दुई चार रुपैयाँ कमाउँछ अनि ल्याउँछ र मेरो औषधि उपचार गर्छ भनेर बसेका उनका बाबु नेताको भाषणपछि छोरो वैदेशिक रोजगारीमा नजाने भएपछि छोरो र नेतालाई खोज्दै गाउँ गाउँ पुगेका थिए । उनका छोरालाई उनकी दिदीले सम्झाउँदा समेत नमानेर नेपालमै केही गर्छु भनेर उनका छोरा बसिरहेका थिए। तर केही समय पश्चात् उनको छोराको आस निराशामा परिणत भयो र उनी पुन वैदेशिक रोजगारीमा लागे यता उनका बाबुलाई बिरामीले च्यापिरहेको थियो निकै बिरामी भएपछि उनले झाँक्रीलाई बोलाउन मान्छेको हारगुहार गरिरहेका थिए गाउँका युवा जति कोही थिएनन् त्यसैले उनले गाउँमा एकजनाको सहारामा झाँक्रीलाई बोलाउन पठाए।
झाँक्री बोलाउन हिँड्दा हिँड्दै बाटोमा नै झाँक्री आइपुगे। र बुवा अर्थात् १२ घरेलाई भएको रोग झाँक्रीले निकाल्न लागे प्रतिनिधि पात्रका रुपमा रहेका झाँक्रीले १२ घरेलाई राजनीतिक रोग लागेको उल्लेख गरे। राजनीतिक रोग को निर्मूल गर्नका लागि झाँक्रीले तन्त्रमन्त्र मार्फत नेतालाई गुहारे। यसै सिलसिलामा नेता आइपुगे। र उनले गरेका भ्रष्टाचार तथा आर्थिक अपचलनका विषयवस्तु ओकले र उनले गरेको भ्रष्टाचारको केही रकम फिर्ता समेत गराए र अब आगामी दिनमा भ्रष्टाचार नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्दा गर्दै सबैको ध्यान केन्द्रित गरेको यो घटनाले सबैको ताली पाउन सफल सफल भयो।
बर्दघाट प्रतिष्ठानद्वारा बिहीबार आयोजित बर्दघाट नगरपालिकाको सभाहलमा प्रस्तुत नाटकको दृश्य थियो यो देशमा भइरहेका व्यथितिलाई नाटक मार्फत प्रस्तुत गरेको थियो। सुसेली कला समूहका अध्यक्ष बद्रीप्रसाद सुवेदीको निर्देशन रहेको नाटकमा प्रमुख पात्रको रुपमा बिन्दु सिंह, भीमबहादुर हिस्की मगर, यादव प्रसाद खनाल, तमुबहादुर गुरुङ, सावित्री बुढाथोकी र विष्णु प्रमुख पात्र थिए। प्रज्ञा प्रतिष्ठानले कला भाषा र साहित्यको जगेर्ना गर्नेगरी आयोजना गरिएको नाट्य गोष्ठी तथा प्रदर्शनी कार्यक्रममा प्रस्तुत यो दृश्यले सबैको मन मुटु छोएको थियो।
सुसेली कला समुहका अध्यक्ष बद्री सुवेदीले कार्यपत्र प्रस्तुत गर्दै पात्रहरू, संवाद, दृश्य,निर्देशन , विषयवस्तु, प्लट, रंगमंचीय व्यवस्था, प्रकाश व्यवस्था, ध्वनि प्रभाव, वेशभूषा र मेकअप जस्ता तत्वहरू रहने उल्लेख गर्नु भयो। नाटकको कार्य पत्रले नाटकको सम्पूर्ण प्रस्तुतिका आधारले नाटकलाई प्रभावकारी बनाउन मद्दत गर्ने सुवेदीकाे भनाइ छ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरप्रमुख तथा प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक शम्भुलाल श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले नगरको साहित्यिक उचाइ बढाएको बताउनुभयो । त्यस्तै बर्दघाट नगरपालिकाका उपप्रमुख र वर्दघाट प्रज्ञा प्रतिष्ठानका संरक्षक रुद्रप्रकाश उपाध्यायले नगरभित्र बौद्धिक बहस सञ्चालन गर्न सफल भएको बताउनुभयो। उहाले कलाले नै बाँच्न सकिने गरी नयाँ सन्देश दिन सकिने बताउँदै २०८३ साल देखि लागू हुने पाठ्यक्रमका लागि नगरले भाषा र साहित्यलाई जोड दिँदै तयारी गरिएको उल्लेख गर्नुभयो। उपाध्यायको भनाइ अनुसार कला र नाटकमार्फत नागरिकलाई जवाफदेही बनाउन सहज हुने बताउनु भयो ।
नगर प्रवक्ता सन्तबहादुर गाहाले विद्यालयलाई विद्यार्थीहरूको प्रतिभा प्रस्तुत गर्ने ठाउँ बनाउनुपर्ने बताउनुभयो। उनले विद्यार्थीहरूलाई नाटक मार्फत विभिन्न जनचेतना आदानप्रदान गर्न सकिने बताउँदै सरसफाई, वनजंगलको संरक्षण तथा नविनतम सिकाई नाटक मार्फत आदानप्रदान गराउन सकिने उल्लेख गर्नुभयो। आगामी दिनमा विद्यालयहरू बीच नाटकीय प्रतिस्पर्धा गराउनु लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो।
नाटकको महत्वबारे उल्लेख गर्दै प्रतिष्ठानका कुलपति डक्टर घनश्याम न्यौपानेले काव्यमा सबैभन्दा महत्वपूर्ण नाटक रहेको उल्लेख गर्नुभयो । ” पहिला नाटकलाई काव्य नै भनिन्थ्यो। नाटकको पात्रले मूल पात्रको जस्तो रूपमा र चरित्र हुनु पर्ने बताइएको छ। रुपकको आधार नै नाटक हो। पहिलो नाटकको कृति लेख्ने व्यक्ति पूर्वमा भरत मुनि हुन् भन्ने उल्लेख छ। उनले नाटक वियोगान्त हुनु हुँदैन, मनोरञ्जनात्मक हुनु पर्नेमा जोड दिएका थिए।” न्यौपानेले भन्नुभयो ।
कार्यक्रममा नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालयका प्राचार्य विश्वराज भट्टराईले विद्यार्थीहरुलाई विद्यालयमा नाटक गराउन सकेन सिकाई प्रभावकारी हुने धारणा राख्नु भयाे। कार्यक्रममा बर्दघाट प्राज्ञ प्रतिष्ठानका जीवनाथ पौडेलको स्वागत, सदस्य सचिव शरद पौड्यालकाे सञ्चालन र कुलपति डाक्टर घनश्याम न्यौपानेकाे रहेकाे थियो।