
दाङको भालुवाङ्गमा प्रशिक्षण प्रतिष्ठान विधेयक नीति संवाद कार्यक्रम सम्पन्न ।
माघ २०, देउखुरी, दाङ । लुम्बिनी प्रदेश मामिला तथा कानून समिति, प्रदेशसभाका सचिव लगायतको विशेष उपस्थितिमा लुम्बिनी अनुसन्धन तथा प्रतिष्ठानको स्थापना संचालन तथा व्यवस्थापन गर्न बनेको विधेयक सम्बन्धी दायित्व फेलोसिप नीति संवाद छलफल कार्यक्रम दाङ जिल्लाको भालुवाङ स्थित होटल पौवाको सभाहलमा सम्पन्न भएको छ ।
नीतिगत संवाद तथा छलफल कार्यक्रममा प्रदेश मामिला तथा कानून समितिका सभापति माननीय दिलकुमारी बुढाले नागरिकलाई कानुनी शिक्षा प्रदान गरी जवाफदेही बनाउन आवश्यक रहेको बताउनुभयो । त्यस्तै उहाँले तीन तहका सरकारले बनाएका कानुनहरु नागरिकले थाहा पाउनुपर्ने भन्दै सरकारले बनाएका कानुनहरु टाठाबाठाहरु मात्र नभई समान्य नागरिकहरुको पहुँच र जबाफदेही बनाउन तीनै तहका सरकारको महत्वपूर्ण भूमिका हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश कानुन समितिका सदस्य एवं प्रदेशसभा सदस्यहरू जमुना ढकाल, इन्द्रकुमारी गहतराज, नीमा गिरी, भुवनेश्वरप्रसाद चौधरी, भोजप्रसाद श्रेष्ठ, रत्नबहादुर खत्री, लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन, उपसचिव ईश्वरीप्रसाद आचार्यलगायतले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक प्रभावकारी र दक्ष प्रादेशिक शासन निर्माणका लागि महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँहरूले प्रादेशिक अधिकारीहरूलाई दक्षतापूर्वक सेवा प्रदान गर्न सक्षम बनाउने, क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने तथा सार्वजनिक प्रशासनलाई सुदृढ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक आवश्यक रहेकोमा जोड दिनुभयो।
यसैगरी, नीति संवाद कार्यक्रममा प्रदेशसभा सदस्य राजकुमार चौधरी, सुशीला बादी, प्रदेश मामिला तथा कानुन समितिका सचिव एवं कानुन अधिकृत राधा रोकाया, विवास बोहरा, सुरजप्रसाद ढकाल, पत्रकार सन्तोष गुप्तालगायतको उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा दायित्व संस्थाका फेलो एवं अनुसन्धानकर्ता समीक्षा भट्टराईले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयकसम्बन्धी नीतिगत संक्षेप प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन दायित्व संस्थाको सीजीपी परियोजना संयोजक रक्षा सिलवालले गर्नुभएको थियो भने परियोजना फिल्ड संयोजक कमलसिंह थारूले सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।