प्रकाश न्यौपाने
माघ २४ गते
नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट-१० मा रहेको ग्लोबल एकेडेमीले १६औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रम, भजन-कीर्तन, नृत्य तथा पुरस्कार वितरणसहित उत्सव मनाएको हो।
कार्यक्रममा वेस्टर्न एजुकेसन रिसर्च सेन्टरका अध्यक्ष गोविन्दप्रसाद पौडेलले ग्लोबल एकेडेमीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले निजी विद्यालयहरूले सामुदायिक विद्यालय भन्दा कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो। सामुदायिक विद्यालयमा प्रति महिना १५ देखि १६ हजार रुपैयाँ लागत लाग्ने उल्लेख गर्दै उहाँले निजी विद्यालयहरूमा ३ देखि ४ हजारमा नै विद्यार्थी पढिरहेको उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी अधिकारीले ग्लोबल एकेडेमीले शैक्षिक उत्कृष्टतासँगै कला, संस्कृति तथा परम्परागत मूल्यहरूको संरक्षणलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। “हामीले शैक्षिक नतिजा सँगसँगै अतिरिक्त क्रियाकलाप गर्दै खेलकुद तथा कला र संस्कृतिको जगेर्नामा समेत जोड दिएका छौं । ” अधिकारीले भन्नुभयो
कार्यक्रममा थारु समुदायको झुम्रा नाच, राई–लिम्बु समुदायको मारूनी नाच, मगर समुदायको कैडा नाच तथा ब्राह्मण–क्षत्री समुदायको चोली–साडी नृत्य प्रस्तुत गरिएको थियो। साथै, कक्षा चार र पाँचका विद्यार्थीहरूले भजनकीर्तन प्रस्तुत गरी अनुशासन र संस्कार प्रवर्द्धनको सन्देश दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले पेशागत भेषभूषा, जातीय भेषभूषा तथा फेन्सी ड्रेसमा र विज्ञान प्रदर्शनी समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा शिक्षिकाहरूको नाच शिक्षक तथा विद्यार्थी बीचको नाच समेत प्रस्तुत गरिएको थियो।
विद्यालयका प्रिन्सिपल मणि शर्माका अनुसार वार्षिकोत्सवमार्फत विद्यार्थीहरूको प्रतिभा अभिव्यक्त गर्ने अवसर प्रदान गरिएको छ । कक्षा शिक्षणमा बढीभन्दा बढी शैक्षिक सामग्रीहरूको प्रयोग गरी कक्षा शिक्षणलाई प्रभावकारी बनाउने , अतिरिक्त क्रियाकलाप मार्फत खेलकुद तथा नेपाली कला र संस्कृतिप्रति सचेत गराउने गरिएको छ ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने तथा खेलकुदमा उत्कृष्टता देखाउने विद्यार्थीहरूलाई सम्मान गर्दै पुरस्कार वितरणसमेत गरेको छ।