लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको कामले तीव्रता पाएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा भवन निर्माण कार्य थालिएको हो । अस्पताल भवनको शिलान्यास गत भदौ १५ गते गरिएको थियो ।प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसन सँग २०८० पुस २६ गते भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । शिलान्यास भएको पाँच महिनाको अवधिमा १३ प्रतिशत काम पूरा भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका साइट इञ्चार्ज इञ्जिनियर शंकर सुवेदीले जानकारी दिनुभएको छ । सम्झौता अनुसार १२ तले बन्ने यो भवन २०८५ पुस मसान्तसम्म सम्पन्न हुनुपर्नेछ ।
हाल दैनिक २१० जना कामदारहरू काममा खटिएका छन् । अहिले सबभन्दा तल्लो बेसमेन्टको काम भइरहेको छ । यसका लागि रड बुन्ने, बिच्छ्याउने, पिलर उठाउने र भुइँ ढलान गर्ने कार्य भइरहेको हो । नयाँ भवनको सबभन्दा माथि हेलिप्याड हुनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सी वार्डमा आउजाउ गर्न मिल्ने लिफ्ट पनि निर्माण हुनेछ । बेसमेन्टको कामसँगै लिफ्टका लागि पिलर उठाउने कार्य पनि भइरहेको छ । नयाँ भवन बनेपछि ओपिडी, इमर्जेन्सी सेवा यहीँबाट प्रदान गरिनेछ । ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायत सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन गरिनेछ। हाल उपचारका लागि प्रयोग गरिएका तीनवटा भवनका सेवा नयाँ भवनमा सारिने । पुराना भवनहरू डायग्नोस्टिक एन्ड रिसर्च, प्रसूति तथा महिला र बाल रोग उपचार का लागि प्रयोग गरिनेछ । त्यस्तै, अहिले निर्माण भइरहेको भवनको दक्षिणतर्फ क्यान्सर उपचारका लागि छुट्टै भवन निर्माण हुनेछ, जसको पनि जग खन्ने कार्य भइरहेको छ । उक्त भवन पाँचतले हुनेछ र एक सिंगल बेसमेन्ट रहनेछ