स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भएका जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे २ वर्ष पूरा गरिसकेका छन् । संघीयता कार्यान्वयनपश्चातको दोश्रो कार्यकालका रुपमा देशभरका ७ सय ५३ स्थानीय तहहरुमा जनप्रतिनिधिहरु स्थानीय विकास, कानुन निर्माण र संघीयताको अभ्यास गरिरहेका छन् । यीमध्येको एक बुटवल उपमहानगरपालिकाले यसबीचमा विकास निर्माण, कानुन निर्माण र संघीयताको मर्मबमोजिमका कामहरु गर्दै आएको छ । देशको मध्यभागमा रहेको यो क्षेत्रको बलियो स्थानीय सरकारका रुपमा बुटवल उपमहानगरपालिकालाई चिनिन्छ । विगतमा खस्यौली, बटौली, बुटौल जस्ता नाममा स्थापित अहिलेको बुटवल सयौं वर्षअघि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । जितगढी किल्लामा नेपालले अंग्रेजहरूलाई दुई सय वर्षअघि हराएका थिए । सेनवंशीय राजाहरूले यहीँ शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए । नुन र कपडाको व्यापारसँग जोडिएको महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गको विस्तारपछि बुटवलले एक सय वर्ष अघिदेखि मात्रै आधुनिक स्वरुप पाएको हो । यो आधुनिक सहरको विकास र समृद्धिको सपना लिएर स्थानीय सरकारको नेतृत्व गरिरहेका नगरप्रमुख खेलराज पाण्डेयसँग हामीले साढे २ वर्षका अनुभवहरुलाई आधार मानेर कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ।
कार्यभार सम्हालेको साढे २ वर्ष पूरा भएको छ, यसबीचको अनुभव कस्तो रह्यो ?
स्थानीय सरकारका रुपमा हामीले दोश्रो कार्यकालको रुपमा कार्यभार सम्हाल्दै गर्दा धेरै चुनौतीहरु हाम्रा सामु थिए । संघीयताको अभ्यास राम्रोसँग हुन पाएकै थिएन । पहिलो कार्यकालमा शुरु भएका केही अभ्यासहरु हामी आइपुग्दासम्म अर्कै अवस्थामा पुगेका थिए । पहिलो वर्ष सिक्दासिक्दै केही कामहरु अगाडि बढाइयो । दोश्रो वर्ष योजनाहरुलाई कार्यान्वयनको चरणमा पुरयाएर केही नतिजा दिनसक्ने अवस्थाको सिर्जना भएको छ । साढे २ वर्षमा बुटवलमा हामीले केही नतिजा दिनसक्ने अवस्थामा पुगेका छौं ।
बुटवल उपमहानगरपालिकाले मानव संसाधनको विकासलाई जोड दिएको छ भन्ने कुरालाई यहाँले धेरैपटक सार्वजनिक स्थलहरुमा भन्ने गर्नुहुन्छ, त्यस क्षेत्रमा के कस्ता काम भएका छन् ?
बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मूख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ । सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीलाइ मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम, बजेट र योजनाहरु अगाडि बढाइएको छ । विकास सँगसँगै नगरको सौन्दर्यीकरण, शहरी व्यवस्थापन र सेवा–सुविधामा सुधार ल्याउनका लागि हामी संघ र प्रदेश सरकारसँग साझेदारी गर्दै अगाडि बढिरहेका छौं । सेवा प्रवाहलाइ जनमुखी बनाउन घरदैलो सेवाहरु सुरु गरेका छौं । बाआमासँग नगरप्रमुख कार्यक्रम मार्फत ६० वर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, अपाङ्गता परिचय पत्र वितरण, सुत्केरी महिलाको स्वास्थ्य जाँच, पशुचौपायाको स्वास्थ्य परीक्षण तथा औषधी वितरण लगायतका कार्यक्रमहरु नागरिकको घरदैलोमै पु¥याइएको छ । गुणस्तरीय शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्दै नगरबासीलाइ आत्मनिर्भर बनाउने योजनाहरु अगाडि सारीएको छ । स्वरोजगार सिर्जना गर्दै नगरबासीलाइ आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा र सीपयुक्त तालिमहरु सञ्चालन भइरहेका छन् । हामीले भौतिक विकासले मात्रै पुग्दैन, मानिसको सर्वांगीण विकास जरुरी छ भन्ने मान्यताका साथ सबैजसो उमेर अवस्थाका बासिन्दालाई लक्षित गरेर कार्यक्रमहरु अगाडि बढाएका छौं । बुटवलले गृहणी महिला तथा युवाहरुलाइ स्वरोजगार बनाउँदै विदेश पलायन रोक्ने उदेश्यले गृहणी महिला स्वरोजगार कार्यक्रम, महिला उद्यमशीलता, युवा इलमजस्ता कार्यक्रममार्फत सीप र रोजगारसँग जोड्दैछौं । हामीले कफी बनाउने सीपदेखि प्लम्बिङ, वायरिङ, कम्प्युटर नेटवर्किङ, कपडा सिलाउने, सुनचाँदीका गहना बनाउने, टपरी बनाउने, चुरापोते बनाउनेजस्ता तालिम सञ्चालन गर्ने र स्वरोजगार हुन चाहनेहरुलाई थप प्रोत्साहन गर्ने काम गरिरहेका छौं । यस वर्ष १ हजार जना महिलालाई विभिन्न सीपमार्फत उद्यममा जोड्ने गरी काम भइरहेको छ । यस्तै, बुटवलमा अस्पतालमा चाहिने जनशक्ति उत्पादनका लागि बुटवल उपमहानगरपालिका स्थानीय समितिको संयोजक रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पारामेडिकलको अध्ययन शुरु गरेका छौं । यहाँबाट उत्पादन हुने जनशक्ति बुटवलमै खपत हुनेछ । त्यसका लागि आम्दालाई स्तरोन्नति गरी ३ सय बेडमा पु¥याउँदैछौं । प्राविधिक शिक्षातर्फ कोरियन टेक्निकल इन्स्टिच्युट बुटवलमा तालिमहरु सञ्चालन भइरहेका छन् । बुटवल टेक्निकल इन्स्टिच्युट बीटीआईलाई समयानुकुल बनाउँदै टनेल इन्जिनियरिङजस्ता अहिले माग भइरहेका विषयहरुको अध्ययन शुरु गर्ने गरी तयारी गरेका छौं । हामीले भौतिक पूर्वाधारमात्रै होइन मानव संसाधनको विकासमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ भनेर यी कार्यक्रमहरु अगाडि बढाएका हौं । बुटवलको अहिलेको माग मानव संसाधनको विकासमा पनि उत्तिकै छ । यसको अर्थ, भौतिक पूर्वाधारका क्षेत्रमा काम भएको छैन भन्ने चाहिँ होइन ।
भौतिक पूर्वाधारका क्षेत्रमा के कस्ता कामहरु भएका छन् ?
बुटवल भौतिक पूर्वाधारमा अगाडि छ । हामीसँग राष्ट्रियस्तरका संरचनाहरु छन् । अन्तराष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी हल छ । ढुवानी ग्राम, व्यवस्थित अटो भिलेज, खेल मैदानहरु बनेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पतालका नयाँ भवनहरु बन्दैछन् । सपिङ मलहरु, ठूला ठूला तारे होटलहरु सञ्चालनमा छन् भने केही निर्माणका क्रममा छन् । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर पशु बधशाला सञ्चालनमा आएको छ । विद्यमान पार्किङको समस्या समाधान गर्न बुटवल उपमहानगरपालिका, नगरविकास कोष र मल्टि डेफोर्ट हार्मोनिक जेभीसँगको सहकार्यमा नगरले बहुतले पार्किङ भवन निर्माणका लागि काम अगाडि बढाएको छ । लामो समयसम्म रोकिएको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको ६ लेन सडक छिट्टै सकिने अपेक्षा छ । बुटवल–नारायणघाट ६ लेन सडक स्तरोन्नति हुँदैछ । बुटवल–चन्द्रौटा सडक पनि ४ लेनमा स्तरोन्नति हुदैछ । पुर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको मिलन बिन्दु पर्ने बुटवलबाट कुनैपनि क्षेत्रका लागि यातायात सुविधा लिन सकिन्छ । नगरका अधिकांश भित्री सडकहरु पक्की र फराकिला बनेका छन, केही निर्माणकै चरणमा छन् । हालको बसपार्क साँघुरो भएकाले प्रदेशस्तरको हरियाली बसपार्क बनाउने योजना ल्याइएको छ । अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माणका लागि बुटवल १२ मा जग्गा प्राप्तिको चरणमा रहेको छ । बुटवलको विकासमा सरसफाइ र खानेपानी आयोजनाका लागि विश्व बैंक लगायतका ठूला लगानीकर्ताहरु लगानी गर्न इच्छुक देखिएकाले छिट्टै यी आयोजनाहरु पनि अगाडि बढ्ने तर्फ उन्मुख छन् । बुटवलको खानेपानीका लागि २२ बर्षअघि सुरु गरिएको झुम्सा खानेपानी आयोजना पनि अब सम्पन्न हुनेतर्फ अगाडि बढेको छ । हामीले तिनाउ गाउँपालिकासँग सहकार्य गरी स्थानीय विकासका लागि वार्षिक २ करोड रुपैयाँ दिने समझदारी गरेका छौं । छाडा चौपायाको समस्या निराकरणका लागि बुटवलको शिवनगर सामुदायिक वनमा गौचरण सहितको गौशाला सञ्चालनमा ल्याइएको छ । यी बुटवलका लागि महत्वपूर्ण योजनाहरु हुन् । अझैपनि केही चुनौतीहरु छन्, ती क्षेत्रमा हामीले क्रमैसँग समाधान गर्दै अगाडि बढिरहेका छौं ।
शिक्षा र स्वास्थ्यमा बुटवल अग्रणी सहरका रुपमा स्थापित भइसक्यो भन्ने विषय पनि यहाँले उठाउँदै आउनुभएको छ, यसका आधारहरु के हुन् ?
बुटवल यसैपनि शिक्षामा अब्बल क्षेत्र हो । माध्यमिक स्तरमा देशमै उत्कृष्टमध्येका कालिका मावि, नवीन औद्योगिक मावि, कान्ति माविजस्ता सार्वजनिक विद्यालयहरु छन् । जहाँ विद्यार्थीलाई भर्नाका लागि पालो कुर्नुपर्ने अवस्था छ । निजी क्षेत्रबाट पनि उत्तिकै स्तरीय शिक्षा प्रदान भइरहेको छ । एसईई होस् वा उच्च शिक्षा बुटवलले देशमै ख्याति कमाएको छ । हामीले आन्तरिक श्रोतबाट मात्रै यो वर्ष शिक्षामा १० करोड जति बजेट छुटयाएका छौं । प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ । बुटवल १६ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । आम्दामा पारामेडिकल कक्षाहरु सञ्चालन भएका छन् । अटो भिलेजमा इन्जिनियरिङ अध्ययन गराउनका लागि पहिलो चरणको अध्ययन पूरा भएर काम अगाडि बढेको छ । विद्यालयहरुको भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापमा जोड्दै विद्यार्थीहरुको क्षमता विकास गर्न नगरस्तरीय फुटबल प्रतियोगिता, लोकनृत्य प्रतियोगिताजस्ता विद्यालयलक्षित प्रतियोगिता सञ्चालन गरिरहेका छौं । स्वास्थ्यमा हामी निर्वाचित भएर आएदेखि विशेष कार्यक्रमहरु सञ्चालन गरेका छौं । टोलटोलमा प्राथमिक उपचार कार्यक्रम, पोषण, सुरक्षित मातृत्व, जेष्ठ नागरिक तथा किशोरकिशोरी लक्षित कार्यक्रम, स्वास्थ्य संस्थाहरुको स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलाइ प्राथमिकतामा राखिएको छ । ६० वर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत चिकित्सकसहितको स्वास्थ्य टोली घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने कार्यक्रम सञ्चालनमा रहेको छ । गर्भवती महिलाहरुको जाँच तथा निशुल्क औषधी वितरण, सुत्केरी महिलालाइ तीन पटक स्वास्थ्यकर्मीहरु घरमै पुगी स्वास्थ्य जाँच गर्ने, दुग्धवद्र्धक जडीबुटी प्रदान गर्ने जस्ता कार्यक्रम सञ्चालित छन् । स्वस्थ शिशु पोषण कार्यक्रम अन्तर्गत नगरभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा बच्चा जन्माउने आमाहरुलाई प्रोत्साहन स्वरुप दुई हजार रुपैयाँ र एचआइभी संक्रमित बालबालिकालाई मासिक ३ हजार पोषण खर्च प्रदान गर्दै आएका छौं । नगरमा अहिले १५–१५ बेडका दुईवटा अस्पताल निर्माण सम्पन्न भइसकेर सञ्चालनको तयारीमा रहेका छन् । बुटवल उपमहानगरपालिकाकै स्थानीय व्यवस्थापनमा रहेको आम्दा अस्पताललाई विशिष्टकीकृत अस्पतालका रुपमा स्तरोन्नति गर्न ३ सय बेडमा स्तरोन्नति गर्ने काम अगाडि बढेको छ । बुटवलमा पीपीपी मोडेलमा १ सय शैयाको अस्पताल स्थापना गर्ने योजनासहित सरोकारवालासँग छलफल चलाइरहेका छौं ।
बुटवलमा बस्ती बाक्लिदै गर्दा कृषियोग्य जमीन घट्दै गइरहेको छ, यसलाई जोगाइराख्न के योजना छन् र बुटवलको कृषि क्षेत्रमा नगरको के योगदान छ ?
बुटवलमा बसाइसराइका कारण कृषि योग्य भूमि घट्दो अवस्थामा छ । अहिलेको अवस्थामा १९ वटा वडामध्ये १ देखि १२ सम्म कृषियोग्य जमीन एकदमै न्युन छ । १ देखि ११ सम्म त कृषिका लागि जमीन नै छैन भन्दा पनि हुन्छ । वडा नम्बर १३देखि १९ मा कृषियोग्य जमीन रहेको छ । त्यो पनि विस्तारै घट्दो क्रममा छ । यसलाई जोगाइराख्नका लागि नगरले कृषिलाई प्रोत्साहन गर्ने हो । व्यक्तिको जमीन किनबेचमा रोक लगाउन सम्भव छैन । देशका मुख्य सहरहरुको मूख्य चुनौती यही हो । कृषियोग्य जमीन घट्दै गएको छ र बस्ती बाक्लिदै गएको छ । बस्ती बाक्लिदै जाँदा कृषि उपजको माग बढ्दो छ । तर, आफुसँग भएको जमीन घडेरी भइसकेको छ । यसले हामीलाई परनिर्भर बनाउँदै लगेको छ । यसमा हामीले किसानलाई प्रोत्साहन दिएर कृषियोग्य जमीन बिक्री गर्नमा भन्दा खेतीपाती गर्नमा आकर्षित गर्ने प्रयास गरिरहेका छौं । स्थानीय श्रोतसाधनले ठूलो लगानी गर्न सकिदैन । तरपनि, हामीले मकैबाली, तरकारी खेती, पशुपंक्षी पालन गर्नेलाई बिउ र सहायतास्वरुप केही सामग्रीहरु, उपकरणहरु तथा उत्पादनमा आधारित अनुदान उपलब्ध गराइरहेका छौं । दुग्ध उत्पादनलाई वृद्धि गर्नका लागि भैसीको पाडी खरिदमा अनुदान दिने गरेका छौं । सहरी बस्तीमा कौशी खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि सञ्चालन गरेका छौं । यसले केही हदसम्म कृषियोग्य जमीनमा खेतीपाती गर्नका लागि प्रोत्साहन गर्नसक्छ भन्ने हो । तर, संघीय सरकारकै नीतिले यसलाई सबैभन्दा बढी प्रभाव पार्छ । बुटवल–१५ मा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने काम अगाडि बढेको छ । झण्डै दुइ अर्ब लगानीको यो आयोजना सम्पन्न हुँदा बुटवल मात्रै हैन, लुम्बिनी प्रदेशका तराइ र पहाडी जिल्लाका किसानका उत्पादनले बजार पाउने छ भने कृषिजन्य उत्पादन निर्यात समेत गर्न सकिने छ । यहाँ उत्पादन भएका वस्तु भैरहवाको विमानस्थलबाट विदेश निर्यात गर्ने योजना छ ।
बुटवल देशकै मुख्य पर्यटकीय स्थलहरु लुम्बिनी, तानसेन, तिलौराकोट, रामग्रामको बीच भागमा छ, बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थल बनाउने कुरा अगाडि सार्नुभएको थियो, यसबारेमा के काम भइरहेको छ ?
बुटवलका ऐतिहासिक, धार्मिक, पर्यटकीय सम्पदाहरुको प्रचार प्रसार गर्दै अन्य पर्यटकीय स्थलहरुसँग तीनलाइ जोडेर पर्यटकीय विश्रामस्थलको रुपमा बुटवललाइ विकास गर्ने लक्ष्य छ । बुद्ध जन्मस्थल लुम्बिनीदेखि बुटवलको जितगढी किल्ला, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, आदिम मानव रामापिथेकसको अवेशष फेला परेको स्थल, सिद्धबाबा मन्दिर हुँदै बुटवललाइ मुक्तिनाथसम्म जोड्ने पर्यटकीय रुट निर्माण गरी पर्यटन प्रबद्र्धनका योजना छन् । बुटवललाइ देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्न नगरको सौदर्यीकरण, सरसफाइ, हरियाली र उज्यालो शहर निर्माण अभियान चलाइएको छ । उज्यालो बुटवल कार्यक्रम अन्तर्गत नगरका २३ स्थानमा हाइमास्ट लाइट जडान गरेर बाँकी स्थानमा यसै वर्ष जडानको काम शुरु भएको छ । बुटवलमा हाल सञ्चालनमा आइसकेको बुटवल–बसन्तपुर जोडने लुम्बिनी केबलकार र बुटवल–नुवाकोट जोडने सिद्र्धाथ केवलकारले यो क्षेत्रलाइ अझ चलायमान बनाएका छन् । निजी क्षेत्रले पनि आर्थिक केन्द्रको रुपमा रहेको बुटवल भविष्यमा सुन्दर पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुने अपेक्षा सहित ठुला, स्तरीय तथा तारे होटलहरुमा लगानी गरिरहेका छन् । हामीले पर्यटनका लागि उपयुक्त वातावरण तयार गर्ने हो । त्यसमा हामीले स्थानीय पर्यटन उद्यमीहरुलाई साथमै लिएर गतवर्ष र यसवर्षपनि कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । विभिन्न महोत्सवहरुमार्फत यहाँको प्रचारप्रसार गर्ने र यहाँका होटलहरुलाई व्यवस्थित र सर्वसुलभ बनाउनका लागि पटकपटक छलफल चलाउने र रात्रीकालीन बजार सञ्चालन गर्ने योजना पनि अघि बढेको छ । कालिकापथ, ट्राफिकचोक, अमरपथलगायतका स्थलहरुलाई रात्रीकालीन बजारका रुपमा सञ्चालन गर्नका लागि स्थानीय व्यवसायीलाई आह्वान गरेर प्रक्रिया अगाडि बढेको छ । यसले केही रुपमा बुटवलको पर्यटनमा भूमिका निर्वाह गर्नेछ ।
बुटवलको मुख्य चुनौतीका रुपमा रहेका ज्योतिनगर पहिरो, अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या, तिनाउ नदी कटानका विषयमा के गरिरहनुभएको छ ?
हो, यी बुटवलका मुख्य चुनौतीहरु हुन् । यी चुनौतीहरुको सामना गर्दै समाधान गर्नका लागि हामीले निर्वाचित भएदेखि नै काम गरिरहेका छौं । पहिलो वर्ष हामीले ज्योतिनगर, लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरो र अरु नदीकटान भएका र हुनसक्ने जोखिम क्षेत्रहरु पहिचान गरेर सुरक्षा र सावधानीका उपायहरु अपनाएर काम गरेका थियौं । ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा हामीले वर्षायाम लागेपछि छुट्टै टीम नै बनाएर काम गरेका छौं । हरेक दिन आउने पहिरो र ढुंगाहरु बस्तीमा जान नदिने गरी काम भइरहेकै छ । तिनाउ नदी कटान हुने क्षेत्रमा पनि बस्ती जोगाउनका लागि तटबन्धको काम भइरहेकै छ । नगरको आन्तरिक बजेटले जे जति सकिन्छ त्यसअनुसार काम गरेका छौं । संघ र प्रदेशमा योजना माग गरेर पठाउँदा पनि यी स्थानहरुको जोखिम न्युनीकरण गर्नका लागि प्राथमिकता दिएर बजेट चाहियो भनेका छौं । केही रकम त आउने गरेको छ । तर त्यो पर्याप्त छैन । यी क्षेत्रहरुमा हुने जोखिम न्युनीकरण गर्नका लागि संघ र प्रदेशको अलि ठूलो बजेटको आवश्यकता छ । अर्को, अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको समस्या समाधानका लागि हामीले नियमित रुपमा जाँपजाच गर्नका लागि प्राविधिक जनशक्तिहरु खटाएका छौं । भूमि आयोगमार्फत जे जति काम हुनुपर्ने हो त्यसका लागि हामीले बुटवलमा कुनै पनि समस्या नहोस् र छिटै काम पूरा होस् भन्ने उदेश्यले पर्याप्त जनशक्तिको व्यवस्था गरेका छौं । यसमा संघ सरकारले लालपूर्जा लिँदा लाग्ने राजस्व ५० प्रतिशत कम गर्नुपर्छ भन्ने कुरा हामीले पटक पटक उठाउँदै आएका छौं । यसअघिको प्रधानमन्त्रीज्यू र हालका प्रधानमन्त्रीज्यूलाई यी कुरा हामीले भेटेर राखेका छौं । यसमा हामी काम गरिरहेका छौं भन्ने आश्वासन पाएका छौं । राष्ट्रिय विषय भएकाले यसमा समाधान हुन्छ भन्ने हाम्रो विश्वास हो ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
बुटवल पहिलेदेखि नै विविधताले भरिपूर्ण सहर हो । ५ सयवर्ष अगाडि पाल्पा राज्यका राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधनहरुलाई व्यापारका लागि यहाँ ल्याए भने नेवारहरु पनि त्यसै सेरोफेरोमा यहाँ आएका थिए । १९९५ सालतिर मुस्ताङबाट थकालीहरु यहाँ आए । व्यापार विनिमयमा तत्कालीन समयमा यो क्षेत्र प्रख्यात थियो । पहाडबाट ल्याएको घिउ प्रशोधन गरेर भारतसहितका मुलुकमा पठाइन्थ्यो । ल्हासाको नुन, सुन, पहाडको जडिबुटी, घिउ, तेलजस्ता सामग्री बेच्ने थलो बटौली थियो । वि.सं. २०१६ सालमा बुटवल खस्यौली नगरपालिकाको स्थापना भएको थियो । २०१७ सालमा बहुदलीय व्यवस्था बिघटन भएपछि यसलाइ बुटवल खस्यौली नगर पञ्चायत बनाइयो । बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि यसको नाम बुटवल नगरपालिका राखिएको थियो । २०७१ मंसीर १६ गते बुटवल नगरपालिकाबाट उप–महानगरपालिकामा स्तरोन्नति भएको हो । बुटवल उप–महानगरपालिकाभित्रको जनसंख्या करिब २ लाखको हाराहारीमा छ । औपचारिक बसोबासीको संख्या करीब २ लाख भएपनि अनौपचारिक रुपमा यहाँ बसोबास गर्नेको संख्या करीब २ लाख रहेको छ । बुटवलले लोकतन्त्र बहालीसँगै विकासमा फड्को मार्दैछ । देशकै मध्यभागमा पर्ने र सहज पहुँच भएकाले बुटवल सबैतिरको रोजाईमा पर्छ । सबैतिरको रोजाईमा पर्ने बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउने हाम्रो योजना छ । यो सामरिक र ऐतिहासिक दृष्टिले मात्रै हैन, पर्यटकीय र व्यवसायिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण थलो हो । विकासमा बुटवल क्षेत्रले काठमाडौंलाई पछि पार्ने गरी अगाडि बढेको छ । वास्तवमा, बुटवल भूगोलमा मात्रै सीमित छैन । बर्दघाटदेखि दाङसम्मको भेग बुटवलको प्रभावित क्षेत्र हो । यो क्षेत्रको नेतृत्व बुटवलले गरिरहेको छ । चाहे त्यो विकासमा होस्, चाहे मानव संसाधनका क्षेत्रमा, बुटवलले अगुवाई गरिरहेको छ । विकासका दृष्टिकोणले बुटवल काठमाडौं उपत्यका बाहिरका अग्रणी शहरहरु मध्येको एक हो । नवलपरासीदेखि दाङसम्म र उत्तरका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, बाग्लुङ, पर्वतसम्मको बुटवलको व्यापारिक साइनो शताब्दी पुरानो हो । भौतिक पूर्वाधारको विकास र मानव संशाधनको विकासमा पनि बुटवलले राष्ट्रिय रुपमै नेतृत्व गर्ने क्षमता राख्दछ । देशमा भएका महत्वपूर्ण परिर्वतन र उपलब्धिहरुमा बुटवलले नेतृत्वदायी भूमिका खेल्दै आएको छ । यसमा संघ, प्रदेश र छिमेकी स्थानीय सरकारहरुको पनि उत्तिकै साथ सहयोग र सहकार्यको अपेक्षा छ । यी सबै विषयहरुले बुटवललाई बस्नयोग्य सहर बनाउनका लागि भूमिका निर्वाह गर्नेछ भन्ने हाम्रो विश्वास हो । बुटवल अब महानगरपालिका बन्न तयार छ । यसका लागि सबै पूर्वाधार र मापदण्डहरु पनि पूरा भएका छन् । बुटवललाई आममानिसको रोजाईको सहर बनाउने, सबैखालका सेवासुविधाहरु सहज र सर्वसुलभ रुपमा उपलब्ध हुने अवस्थाको सिर्जना गर्नतर्फ हामीहरु लागेका छौं । यसमा बुटवलका बासिन्दा, उद्योगी व्यवसायी, विभिन्न पेशामा संलग्न व्यक्तित्वहरु, कर्मचारी, सामाजिक अगुवा, विकासका अगुवाहरुसहितको सहयोगको खाँचो रहन्छ । हामी सधै सबै पक्षलाई समेटेर अगाडि बढ्ने पक्षमा रहेका छौं ।