रेशम चौधरीले शपथ लिन मिल्दैनः संविधानविद

प्रकाशित मिति:

१९ पुस, काठमाडौं । संविधानविदहरूले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई सांसद पदको शपथ ग्रहण गराउन नमिल्ने बताएका छन् । चौधरीलाई विहीबार शपथ गराउन लागेको सन्दर्भमा प्रश्न गर्दा संविधानविदहरूले भने, ‘निर्वाचित भएलगत्तै शपथ गराउन के कारणले मिलेको थिएन र, अहिले परिस्थितिमा के परिवर्तन आयो जसले गर्दा शपथ खुवाइँदैछ ?’
कैलाली-१ बाट निर्वाचित भए पनि अदालतमा मुद्दा विचाराधीन रहेकाले चौधरीलाई शपथ ग्रहण गराउन नमिल्ने उनीहरूको धारणा छ । संविधानविद डा. विपीन अधिकारी अदालती प्रक्रियाबाट छुट नपाएकाले शपथ गराउन नमिल्ने बताउँछन् ।
जतिसुकै राजनीतिक परिवर्तन भए पनि अदालतमा निर्दोषिता परीक्षण भइरहेको व्यक्तिले राजनीतिक हैसियत प्रयोग गर्न सक्तैन’, डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘हत्या अभियोग लागेको व्यक्तिले पहिला अदालतबाट सफाई पाएकै हुनुपर्छ ।’

कानूनी प्रक्रियाकै कारण खुमबहादुर खड्का, जेपी गुप्ता जस्ता नेताहरू राजनीतिबाट विस्थापित भएको स्मरण गर्दै अधिकारीले भने, ‘रेशमलाल कुन माटोले बनेको छ र ? उनका लागि छुट्टै मापदण्ड लाग्ने ?’
नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले गम्भीर फौजदारी अपराधको अभियोग लागेका व्यक्तिलाई संसदजस्तो गरिमामय निकायको शपथ खुवाउन नमिल्ने बताए । संवैधानिक सर्वोच्चताको देश भएकाले कानूनले जे भन्छ त्यहीअनुसार काम गर्नुपर्ने खड्काको भनाइ छ ।
‘राजनीतिक सहमतिका नाममा यस्तो गैरकानूनी काम गर्न मिल्ने संवैधानिक प्रावधान छैन’ खड्काले अनलाइनखबरसँग भने ‘कानून र संविधान अनुसार उहाँको शपथ गर्न मिल्दै मिल्दैन, कम्युनिस्टशासनमा मिल्छ भने त के भनौ र ?’

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालक सहित सात प्रहरीको हत्या भएको घट्नामा सासद चौधरीसहित २६ लाई विपक्षी बनाइएको छ । मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दा अभियुक्तहरू सांसद चौधरी डिल्लीबजारस्थित सदरखोर, लक्ष्मण थारुसहित २३ जना जिल्ला कारागार कैलाली र दुई नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् ।
उनीहरूमाथि कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा छ ।