चौधरीलाई शपथ गराउनु कानुनविपरीत : तरुण दल

प्रकाशित मिति:

पुष १९ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई शपथ ग्रहण गराउनु कानुनसम्मत नभएको दाबी गरेको छ । तरुण दलले बिहीबार विज्ञप्ति जारी गरेर चौधरीलाई कानुनविपरित जेलबाट निकालेर सांसद पदको शपथ गराउने कार्य संविधान र कानुनी शासनको ठाडो उल्लंघन भएको दाबी गरेको हो ।
लोकतान्त्रिक मूल्य मान्यता विपरित हत्याकाण्डका नाइकेलाई शपथ खुवाउने तयारी गरेर सरकारबाटै कानुनी राज्यको उपहास भएको तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
‘‘२०७२ भदौ ७ गते टीकापुरमा भएको निर्मम र बर्बरतापूर्ण हत्याकाण्डमा मारिएका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याका मुख्य दोषीको रूपमा कारवाही गर्नुको साटो उल्टै सम्मान स्वरुप शपथ गराउने कार्यले शान्ति सुरक्षा, दण्डहिनता र कानुनी राज्यको उपहास गरेको छ,’’ विज्ञप्तीमा उल्लेख छ ।
चौधरीलाई शपथ खुवाउने सरकारको निर्णय अबैधानिक, निरंकुश, अमानवीय र अन्यायपूर्ण भएको दाबी गर्दै तरुण दलले सरकारलाई सत्तास्वार्थका नाममा हत्या गरिएका निर्दोष नागरिकका परिवारलाई थप पीडा दिने हर्कत नगर्न सचेत गराएको छ ।