सुर्यनगर गोल्डकप सुरु, उद्घाटन खेलमा काठमाडौं क्वार्टरफाइनलमा प्रवेश

प्रकाशित मिति:
प्रकाश न्यौपाने
फागुन ८ गते
नवलपरासी । जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको नवौं संस्करणको सुर्यनगर गोल्डकप बुधबारदेखि सुरु भएको छ। बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले गोल्डकपको भव्य समारोहका बीच उद्घाटन गर्नुभयो।

बर्दघाट नगरपालिका वडा नम्बर १६ स्थित नव युवा क्लबको आयोजना तथा बर्दघाट नगरपालिकाको संरक्षकत्वमा हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता यसपटक पनि सुरु भएको हो।


उद्घाटन समारोहमा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाले सबै खेलकुदलाई प्राथमिकतामा राख्दै “एक वडा, एक खेलकुद मैदान” अभियानलाई अघि बढाइरहेको बताउनुभयो। पूर्व नगरप्रमुख धिरज शर्मा बस्यालले बर्दघाट नगरपालिकालाई खेल क्षेत्रको उर्वर भूमि रहेको उल्लेख गर्दै स्थानीय तहले सबै खेलकुदलाई समेटेर लैजानुपर्नेमा जोड दिनुभयो।


यसपटक सुर्यनगर गोल्डकपको प्रथम पुरस्कार राशी ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र द्वितीय पुरस्कार राशी ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ तोकिएको छ। प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरू सहित १० टिमको सहभागिता रहनेछ। घरेलु टिमबाट बिमल घर्ती मगर समेत खेल्ने जनाइएको छ।


झण्डै २०–२५ वर्षअघि यस क्षेत्रमा फुटबल खेल सञ्चालनमा आएकोमा २०७२ सालको पाँचौं संस्करणदेखि सुर्यनगर गोल्डकपको नामले स्थानीय सरकारको संरक्षकत्वमा सञ्चालन हुँदै आएको वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले बताउनुभयो।


सुर्यनगर गोल्डकपका लागि बर्दघाट नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ भने प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यस प्रतियोगितालाई २५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ।


उद्घाटन खेलमा काठमाडौंको बासबारी क्लब र चितवनको परिवर्तन हातेमालो क्लब भिडेका थिए। ट्राइब्रेकरमा चितवनलाई ३–२ गोलले पराजित गर्दै बासबारी क्लब काठमाडौंले क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ ।