बर्दघाट १६ मा कानुनी साक्षरता कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फाल्गुन ८ गते
नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाटमा महिलाहरूलाई लक्षित गरेर कानुनी साक्षरता कार्यक्रम गरिएको छ। महिला अधिकार संगठन बर्दघाट-१६ को आयोजनामा पाँच दिने कानुनी साक्षरता सम्बन्धी सम्पन्न भएको छ। कार्यक्रम फागुन ४ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको थियो।


कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठले सामाजिक विकासमा तालिमको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै हिंसा रहित समाज निर्माणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। साथै, नगरले हिंसा रहित अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै महिला, पुरुष तथा बालबालिका हिंसा मुक्त समाज निर्माणमा जोड दिन आग्रह गर्नुभयो।


सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १६ का अध्यक्ष भीमाकाजी गुरुङले हिंसा रहित समाज निर्माणमा नगरपालिकाले विशेष पहल गरिरहेको बताउनुभयो। महिलाले एकले अर्कालाई आफूले जानेका कुराहरूको सहजीकरण गर्नेमा जोड दिँदै गुरुङले महिलाहरू उत्पादनमा लाग्न सके आत्मनिर्भर बन्न सकिने भनाई राख्नुभयो । त्यस्तै, वडा नम्बर १६ का निवर्तमान अध्यक्ष शुकबहादुर गुरुङले महिलाहरूलाई शिक्षा र कानुनी ज्ञान प्रदान गर्ने यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो।


कार्यक्रममा अधिवक्ता राजेन्द्र खनाल, बर्दघाट नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख अप्सरा अधिकारी र प्रकाश न्यौपानेले महिला अधिकार, महिला हिंसा, घरेलु हिंसा, कानुनी प्रक्रिया, विवाहको उमेर, बालविवाहका कानुनी समस्या, वैवाहिक सम्बन्ध, सम्बन्ध विच्छेद, जबर्जस्ती करणी, न्यायिक तथा कानुनी उपचारको प्रक्रिया र नेतृत्व विकासका विषयमा सहजीकरण गर्नुभएको थियो।


कार्यक्रमलाई बर्दघाट नगरपालिकाले आर्थिक सहयोग रहेको कार्यक्रममा बर्दघाट नगरपालिका वार्ड नम्बर १४, १५, र १६ का आमा समूहका करिब ६० जना महिलाहरू कार्यक्रममा सहभागिता रहेको थियो ।


संस्थाकी अध्यक्ष दिलमाया थापा मगर को अध्यक्षता रहेको कार्यक्रमकाे सञ्चालन कमला गुरुङ र शुद्ध गुरुङले गर्नुभएको थियो। भने रिपोर्ट कर्ताको रूपमा पुष्पा खनालले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको बारेमा भनाइ राख्दै दुर्गा सापकोटा, सरस्वती भुर्तेलले गाउँँगाउँमा रहेका महिलाहरूलाई कानुनी ज्ञान र शिक्षा दिई नेतृत्व विकास गर्नु कार्यक्रम सफल भएको उल्लेख गर्नुभयो।