फाल्गुन ९ गते
नवलपरासी । पश्चिम नवलपरासीका अधिकांश हुलाकी सडकहरू लामो समयदेखि अलपत्र अवस्थामा रहेका छन्। ठेक्का सम्झौता भएको धेरै समय बितिसक्दा पनि सडक निर्माण सुस्त गतिमा अघि बढ्दा स्थानीय नागरिक आजित भएका छन्।
जिल्लाको सदरमुकाम परासीदेखि नारायण चोकसम्मको करिब १२ दशमलव ५ किलोमिटर सडक तुलनात्मक रूपमा राम्रो भए पनि नारायण चोकदेखि त्रिवेणीसम्मको १६ किलोमिटर सडकको अवस्था दयनीय छ। बज्रगुरु महालक्ष्मी जेभी काठमाडौँले ५८ करोड रुपैयाँमा निर्माणको ठेक्का लिए पनि हालसम्म ५०% भौतिक प्रगति पनि हासिल गर्न सकेको छैन।
स्थानीय तह र सरोकारवालाहरूले निर्माण कार्य तिव्र बनाउन विभिन्न दबाबमूलक कार्यक्रमहरू गर्दै आएका छन्। प्रतापपुर गाउँपालिकाको नेतृत्वमा स्थानीयहरूले आन्दोलन गर्दै आएका छन्। गाउँपालिकाका अध्यक्ष उमेश यादवसहितका प्रतिनिधिहरूले आमरण अनशनसमेत गरेका थिए। अनशनकै क्रममा ठेकेदार कम्पनीले पुनः काम अघि बढाउने प्रतिबद्धता जनाएको थियो, तर हालसम्म कुनै ठोस प्रगति देखिएको छैन।
प्रतिनिधि सभा सदस्य गगन थापाले अनशन स्थलमै उपस्थित भई ऐक्यबद्धता जनाएका थिए। विभिन्न राजनीतिक दलका नेताहरू आन्दोलनमा सहभागी भए पनि यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरी भने अनुपस्थित रहे। चौधरीले यस विषयमा कुनै धारणा सार्वजनिक गरेका छैनन्, जसले स्थानीय जनतामा असन्तोष बढाएको छ।
यसैबीच, प्रतिनिधि सभा सदस्य सरिता भुसालले हुलाकी सडक निर्माणमा भइरहेको ढिलाइबारे संसदमा सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले लुम्बिनी प्रदेशसभामा सडक निर्माणमा प्रदेश सरकारले पहल गर्नुपर्ने माग राखेका छन्। विभिन्न निकायबाट आवाज उठे पनि सांसद चौधरी भने मौन छन्।
सुरुमा चौधरीले हुलाकी सडक आयोजनाका प्रतिनिधिहरूसँग छलफल गरेका थिए र निर्माण कार्य अघि बढाउन सम्बन्धित निकायसँग सहजीकरण गर्ने आश्वासन दिएका थिए। तर ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक निर्माणको गति अझै सुस्त छ।
सांसद चौधरीले कहिलेकाहीँ कार्यकर्ता भेटघाट र विकास निर्माणसम्बन्धी अपडेट लिने गरे पनि हुलाकी सडकबारे संसदमा वा जिल्ला भ्रमणका क्रममा कुनै प्रतिक्रिया नजनाएको स्थानीयहरूको आरोप छ। आम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको यस विषयमा चौधरीको मौनताले विभिन्न टिकाटिप्पणी जन्माएका छन्। अब यस विषयमा सांसद चौधरीले चाँडै धारणा सार्वजनिक गर्नेछन् कि मौन नै रहनेछन् भन्ने प्रश्न स्थानीयवासीका लागि जटिल बनेको छ।