दाङको धारपानीमा लाग्ने महाशिवरात्री पर्व व्यवस्थित बनाउन बिभिन्न समिति गठन,१०८ गौमूखी धाराको उद्घाटन गरिने

प्रकाशित मिति:

विमल योगी- फागुन । दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेला यसबर्ष पनि तिन दिन लाग्ने भएको छ । घोराही उप महानगरपालिका वडा नम्वर ५ धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा लाग्ने मेलामा बिभिन्न धार्मिक कार्य गरिनेछ । महाशिवरात्री पर्वको अवसरमा लाग्ने मेलाकै अवसरमा यही फागुन १२ गते १०८ गौभूखी धाराको औपचारिक उद्घाटन गरिनेछ । बिभिन्न दाताहरुको सहयोगमा निर्माण भएको गौभूखी धाराहरु निर्माणकर्ताहरुले सामुहिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी जानकारी दिनुभयो । गौमूखी धारा निर्माण भएको लामो समय भएपनि त्यसमा नियमित पानी खस्नका लागि पानी व्यवस्थापन गरिएपछि गौमूखी धारा निर्माणको कामले पूर्णता पाएको हो ।

ति धाराहरुमा नियमित पानी आउनका लागि बवईको पानी लिफ्टिङ गरेर पोखरीमा जम्मा गर्ने र पाइप मार्फत गौमूखी धाराहरुमा खस्ने व्यवस्था मिलाइएको छ । १२ गते गौमूखी धारा उद्घाटनपछि प्रत्येक दिन बिहान २ घण्टा १०८ वटै गौमूखी धाराहरुमा भत्तजनहरुलाई स्नानका लागि पानी आउने व्यवस्था गरिने अध्यक्ष अधिकारीेले जानकारी दिनुभयो । महाशिवरात्री पर्वकै अवसरमा फागुन १३ गते बेलुका एक हजार आठ वटा दिप प्रज्वलन गर्ने र १४ गते बिधि पूर्वक भगवान शिवको पुँजाआरधना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्रि चेतनारायण आचार्यको उपस्थितीमा नेपाली सेना लगायतका सुरक्षाकमी,मन्दिर व्यवस्थापन समिति,भत्तजन लगायतको सहभागितामा शिव सलामी समेत दिइनेछ । भने मन्दिरको सौन्दर्य र आर्कषण बढाउन मन्दिर परिसरमा रहेका मठमन्दिर,तुल्सीमैरो,सिडी,प्रतिक्षालय लगायतका स्थानमा रंगरोगन समेत गरिएको छ । मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन बिभिन्न समिति तथा उपसमिति गठन समेत गरिएको छ ।