सपथ खुवाउन माग गर्दै मनाङेले दिए निवेदन

प्रकाशित मिति:

पुष १९ काठमाडौं । मनाङबाट निर्वाचित सांसद राजिव गुरुङ ‘दीपक मनाङे’ ले आफूलाई प्रदेश सदस्यको सपथग्रहण गराउन माग गर्दै गण्डकी प्रदेशको सभामुख कार्यालयमा निवेदन दिएका छन्। सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि एक साताअघि गुरुङले सभामुखको कार्यालयमा निवेदन दिएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले बताए। सपथ खुवाउने वा नखुवाउने भन्ने निर्णयमा पुग्न नसकेको उनले बताए। ‘उहाँले निवेदन दिनुभएको छ। कानूनी हिसाबले सपथ गराउन मिल्छ या मिल्दैन छलफल गरिराखेका छौं,’ सभामुख अधिकारीले सेतोपाटीसँग भने, ‘प्रष्ट कानुन नहुँदा निर्णयमा पुग्न गाह्रो भयो।’

गत बिहीबार गुरुङले निवेदन दिएपछि शुक्रबार यसबारे छलफल गर्न संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिए पनि सबै दलको प्रतिनिधित्व नभएको भन्दै बैठकले औपचारिकता पाएन। सभामुख अधिकारीले मुख्यन्यायाधीवक्ता र कानुनका जानकारसँग पनि छलफल गरिरहेका छन्।  पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए।

गत वर्ष मंसिरमा भएको चुनावमा मनाङ प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका उमेद्वार कर्म गुरुङलाई हराउँदै स्वतन्त्र उमेद्वार गुरुङ निर्वाचित भएका थिए।  तत्कालिन नेकपा एमालेकी उमेद्वार खाण्डा लामा गुरुङले उमेद्वारी फिर्ता लिँदै समर्थन गरेपछि मनाङे विजयी भएका थिए। गुरुङलाई सपथ खुवाउनु पर्नेमा नेकपाका सांसदहरु छन् भने प्रतिपक्षी कांग्रेसले सपथ खुवाउन नमिल्ने बताउँदै आएका छन्।