सन्त कुमार श्रेष्ठ-बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका ६, पश्चिम पहुनीमा १०८ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ। मोक्षधाम सेवा आश्रमले विश्वको ठूलो त्रिशूल स्थापना गरिएको दावी गरेको छ।मोक्षधाम सेवा आश्रमको प्राङ्गणमा स्थापित यस त्रिशुलमा भगवान शिवको डमरु समेत समावेश गरिएको छ।शुक्रवार करिब ५०० जनाको सहभागितामा भजन-कीर्तनसहित त्रिशुलको स्थापना गरिएको हो। लुम्बिनी इन्जिनियरिङले त्रिशुलको निर्माण निःशुल्क रूपमा सम्पन्न गरेको हो भने आवश्यक सामग्री मोक्षधाम सेवा आश्रमले उपलब्ध गराएको थियो।सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका-६ का वडाध्यक्ष गणेश पाठकले मोक्षधाम सेवा आश्रम हिन्दु धर्मको सबैको साझा आस्थाको केन्द्र भएको बताए।मोक्षधाम सेवा आश्रमका कार्यवाहक अध्यक्ष टिकाराम पाण्डेले त्रिशुलको औपचारिक उद्घाटन शिवरात्रिका दिन ९फागुन १४ गते० विशेष पूजासहित गरिने जानकारी दिएका छन्। उनले मोक्षधाम सेवाको अवधारणा २०६८ सालमा सुरु भई विभिन्न धार्मिक तथा सामाजिक संरचनाहरू निर्माण भइरहेको बताए।
हालसम्म आश्रमले राधाकृष्ण मन्दिर, सत्संग हल, द्वादश ज्योतिर्लिंगसहितको विश्वनाथ मन्दिर, होवनकुण्ड, अमृत कुण्ड, बाल तथा वृद्धाश्रम, मुक्तिनाथ मन्दिर तथा सभा हल निर्माण गरिसकेको छ।कोषाध्यक्ष नारायण बन्जाडेले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको मोक्षधाम सेवा आश्रमले नियमित रूपमा धार्मिक अनुष्ठान, सत्संग तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको बताए।उनले रुपन्देही जिल्लालाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित यस धामलाई पृथ्वीमै स्वर्गको अनुभूति दिने संरचनाका रूपमा विकास गरिने योजनामा आश्रमले कार्य गरिरहेको बताए ।१०८ फिट त्रिशुलको स्थापनासँगै बद्रीनाथ, द्वारिका मन्दिरको इस्टिमेट आएको र ती संरचनाहरू निर्माण प्रक्रियामा रहेको सह-सचिव आनन्द भगवत श्रेष्ठले बताए।