प्रकाश न्यौपाने
फाल्गुन १० गते
नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाट-९ नाउडाँडास्थित कैलासकोट शिव मन्दिरमा जारी शिवपुराण ज्ञान महायज्ञमा भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको छ। फाल्गुन ४ गतेदेखि सुरु भएको महायज्ञमा दिनप्रतिदिन श्रद्धालु भक्तजनहरूको सख्या बढ्दो छ। योग गर्ने, कथा सुन्ने, नाटक तथा अभिनय हेर्ने, भजन गाउने तथा भजनमा नाँच्ने, आरती गर्ने जस्ता गतिविधिमा भक्तजन हरुको उल्लेखनीय सहभागी देखिएको छ।

११ दिनसम्म सञ्चालन हुने यस धार्मिक अनुष्ठानमा भागवत अलङ्कार पं. श्री नेत्र प्रसाद नरोत्तम शरण प्रमुख वाचक रहनुभएको छ। महायज्ञको उद्घाटन सन्त शिरोमणी श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले गर्नुभएको हो।
महायज्ञ आयोजक समिति संयोजक चन्द्रकान्त चापागाईंका अनुसार वैदिक धर्मको संरक्षण एवं प्रवर्द्धन गर्दै धार्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको उल्लेख गर्नु भयो। श्री कैलाशकुट शिव मन्दिर, बर्दघाट-९ भुताहालाई पुनर्निर्माण गर्दै धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको चापागाईंले बताउनुभयो।
मन्दिर व्यवस्थापन समितिका संयोजक दीपक खरालका अनुसार भक्तजनहरूका लागि लघुरुद्राभिषेक, नवग्रह पूजा, सप्तशती पाठ, भूमि एवं तुलादान, विवाह उत्सव, जन्मोत्सव, नवग्रह शान्ति तथा भोजन प्रसादको व्यवस्था गरिएको छ। इच्छुक भक्तजनहरूले कम्तीमा एक दिन अगाडि नाम दर्ता गराउन सक्ने व्यवस्था रहेको खरालले उल्लेख गर्नु भयो।

महायज्ञअन्तर्गत प्रत्येक दिन बिहान पूजा आराधना, शिवपुराण पाठ, हवन एवं रुद्राभिषेक, कथा प्रवचन, साँझ महाआरती तथा प्रसाद वितरण, भजन-कीर्तन जस्ता धार्मिक क्रियाकलाप सञ्चालन भइरहेको सह संयोजक दिपक थापाले बताउनु भयो । महायज्ञमा आर्थिक सहयोग गर्ने भक्तजनहरूलाई विशेष सम्मान प्रदान गरिने व्यवस्था गरिएको छ। सहयोग रकमका आधारमा विभिन्न सम्मान एवं स्मृतिचिन्ह प्रदान गरिनेछ। आर्थिक समिति संयोजक भीम खनालका अनुसार रु. ५०१ देखि ५००३६९ रुपैयाँसम्मका सहयोगकर्ताहरूलाई विभिन्न तहका सम्मान प्रदान गरिनेछ भने रु. ५००३६९ भन्दा माथि सहयोग गर्ने दाताहरूलाई ताम्रपत्र प्रदान गरिनेछ।

महायज्ञलाई भव्य एवं व्यवस्थित बनाउन मूल समारोह समिति, स्थानीय संघसंस्था एवं श्रद्धालु भक्तजनहरू पूर्ण रूपमा सक्रिय रहेको आयोजक समितिले जनाएको छ। आयोजकहरूले सम्पूर्ण धार्मिक श्रद्धालुहरूलाई महायज्ञमा सहभागिता जनाई धर्म लाभ लिन आह्वान गरेका छन्।