सूर्यनगर गोल्डकपको उपाधि युनाइटेड वीरगञ्जलाई

प्रकाशित मिति:
प्रकाश न्यौपाने
फागुन १६ गते
नवलपरासी । लुम्बिनी प्रदेशकै दोस्रो ठूलो तथा जिल्लाकै पहिलो ठूलो पुरस्कार राशि रहेको सूर्यनगर गोल्डकप २०८१ को उपाधि युनाइटेड वीरगञ्जले हात परेको छ। आइतबार भएको रोमाञ्चक फाइनल खेलमा बाँसवारी क्लब, काठमाडौं लाई १-० गोल अन्तरले पराजित गर्दै वीरगञ्जले उपाधि उचाल्न सफल भयो।


खेलको ८३ औं मिनेटमा युनाइटेड वीरगञ्जका जर्सी नम्बर ७ का सागर चौधरीले गरेको गोल नै निर्णायक गोल बन्यो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफमा बाँसवारी क्लबले केही राम्रो अवसर सिर्जना गरे पनि वीरगञ्जका गोलरक्षकको उत्कृष्ट बचाउका कारण गोल गर्न असफल रह्यो। विजेता युनाइटेड वीरगञ्जले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार हात पार्यो भने उपविजेता बनेको बाँसवारी क्लब, काठमाडौंले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्यो। फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगितामा १० वटा टिम सहभागी थिए।


कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका कृषि, वन तथा वातावरण समिति सभापति विश्व प्रेम पाठक ले खेल क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। “खेलसँगै दर्शक, खानपिन तथा अन्य गतिविधि समेट्न सके यसले पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउनेछ,” उहाँले भन्नुभयो।


बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ ले नगरले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो। “बर्दघाटलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने लक्ष्य राखेका छौं। आगामी दिनमा नयाँ खेलाडी उत्पादनमा नगरले अझ बढी लगानी गर्नेछ,” उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै बर्दघाट-१६ का वडा अध्यक्ष भीमकाजी गुरुङ्गले खेलकुदको दिगो विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।


सूर्यनगर गोल्डकपको सफलतासँगै बर्दघाट क्षेत्र खेलकुद गतिविधिका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको आयोजक नवयुग क्लबको धारणा छ।