प्रकाश न्यौपाने
फाल्गुन १६ गते
नवलपरासी । बर्दघाट-२ मा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसको ३५ औं क्याम्पस सभा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षता र संघीय सांसद सरिता भुसालको प्रमुख आतिथ्यतामा क्याम्पस सभा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै संघीय सांसद तथा शिक्षा समितिकी सदस्य सरिता भुसालले नेपालको शैक्षिक विकासमा पब्लिक क्याम्पसहरूको भूमिकालाई महत्वपूर्ण रहेको बताउनु भयो।
क्याम्पस स्थापनाको चरणमा कोही कसैको महत्वपूर्ण योगदान रहेर आजीवन सदस्य बन्नुभएको उल्लेख गर्दै उहाँले क्याम्पसको उत्तरदायित्व आम समुदायले वहन गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले पब्लिक क्याम्पसहरू समुदायकै लगानीमा स्थापना भएकाले यसको दिगो विकासका लागि स्थानीयको सहभागिता अनिवार्य रहेको बताउनुभयो।
त्यस्तै, संविधानसभा सदस्य विक्रम खनालले क्याम्पसलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। “समुदायमा शिक्षाको पहुँच पुर्याउने क्याम्पले आफैं विधि र प्रक्रियालाई पालना गर्नु जरुरी छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले स्थानीय विद्यार्थीहरू उच्च शिक्षाका लागि बाहिर जानुपर्ने अवस्थाको नरहेको बताउनुभयो। शिक्षाका लागि सानो कक्षादेखि उच्च शिक्षासम्म बदर्घाटमै रहेको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले भन्नु भयो अहिले बर्दघाटमै गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने वातावरण तयार भइरहेको बताउनु भयो।
क्याम्पस प्रमुख सागरमणि पाण्डेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको जानकारी गराउनुभयो। उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयले प्रकाशित नतिजाअनुसार बिबिए संकायमा दिव्यज्योति बहुमुखी क्याम्पस नेपालकै उत्कृष्ट नतिजासहित फोर जिपिए (४.०) हासिल गर्न सफल भएको छ। “हामी बर्दघाटमा रहेर जिल्ला, प्रदेश मात्रै नभई देशकै उत्कृष्ट नतिजा दिन सफल भएका छौं,” क्याम्पस प्रमुख पाण्डेले भन्नुभयो।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरियो। कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूद्वारा खाना महोत्सव समेत आयोजना गरिएको थियो । जसमा नेपाली, चिनियाँ र दक्षिण भारतीय खानाका परिकारहरूको विशेष व्यवस्थापन गरिएको थियो। विद्यार्थीहरूले तयार पारेका परिकारहरू अतिथिहरूलाई खुवाइएका थियो।
क्याम्पस सभामा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व, क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दया दर्लामी, सञ्चालन पूर्व क्याम्पस प्रमुख कृष्णबन्दु पौडेलले गर्नुभएको थियो।