नेपाल शिक्षक संघ नवलपरासीको २६औँ प्रतिनिधिसभा सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फाल्गुन १६ गते

बर्दघाट, पश्चिम नवलपरासी – नेपाल शिक्षक संघ पश्चिम नवलपरासीको २६औँ प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारको प्रमुख आतिथ्यता र शिक्षक संघका पश्चिम नवलपरासीका अध्यक्ष भोजराज चापागाईंको अध्यक्षतामा “गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पूर्वाधार” भन्ने नाराका साथ विभिन्न विषयमा छलफल गरिएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहममन्त्री एवं सङ्घीय सांसद प्रमुख अतिथि परियारले शिक्षाको सुधार र शिक्षण पेशाको सुदृढीकरणका लागि छिट्टै शिक्षा ऐन ल्याइने जानकारी दिनुभयो। उहाँले शिक्षण पेशालाई मर्यादित बनाउन सरकार कटिबद्ध रहेको बताउँदै शिक्षा ऐन नहुँदा शिक्षकहरूलाई कठिनाइ भएको स्वीकार गर्नुभयो। साथै, शिक्षाको विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच त्रिपक्षीय सम्बन्ध सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो।


कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले शिक्षक अध्ययनशील हुनुपर्नेमा जोड दिनु भयो। शिक्षकको प्रमुख एजेन्डा नै गुणस्तर वृद्धि हुनुपर्नेमा जोड दिने खनालले शिक्षक, अभिभावक र विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्धले मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने उल्लेख गर्नु भयो। त्यस्तै, बर्दघाट, रामग्राम र सुस्ता पालिकामा रहेको पालिका स्तरीय शिक्षक संघलाई प्रभावकारी कार्यका लागि सम्मान प्रदान गरिएको थियो।


कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठक, बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी लगायतले शिक्षक संघ नवलपरासीले गुणस्तरीय शिक्षाका लागि सञ्चालन गरेका कार्यक्रमहरू प्रभावकारी रहेको धारणा राख्नुभयो।


कार्यक्रममा शिक्षा क्षेत्रमा लामो योगदान दिनु भएका पूर्व शिक्षकहरु चिरञ्जीवी खानाल, भोला न्यौपाने, राजकुमार जोशी, सुरेश बानिया, घनश्याम कलवार, पंकज आचार्य लगायत १० जना सेवानिवृत्त शिक्षकलाई सम्मान गरिएको थियो। साथै, शिक्षक सेवा आयोगबाट सिफारिस भई बढुवा हुनु भएका नेत्रलाल न्यौपाने, राजेश पाण्डे लगायतलाई १० जना शिक्षकहरुलाई सम्मान गरिएको जिल्ला सहसचिव अर्जुन पाण्डेले जानकारी दिनुभयो।


नेपाल शिक्षक संघ पश्चिम नवलपरासीका अध्यक्ष भोजराज चापागाईंले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूको भूमिकामा विशेष जोड दिँदै शिक्षक संघले सधैं शिक्षण पेशाको हकहितको संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमका सचिव इन्द्र चौधरीले सञ्चालन र सहसचिव अर्जुन पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।