फाल्गुन २० गते
नवलपरासी । दिव्यज्योति बहुमुखी क्याम्पसमा लगानी र वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख सागरमणि पाण्डेले आम्दानी, बचत, र लगानीको उचित व्यवस्थापनबारे धारणा राख्दै, विद्यार्थीहरूले वित्तीय निर्णयमा सचेत हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा शिक्षक प्रकाश न्यौपानेले व्यवहारिक शिक्षामा लगानी र आम्दानीको महत्त्व स्पष्ट पार्दै, कक्षामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञानसँग जोड्न आवश्यक रहेको बताउनु भयो । उहाले विद्यार्थीहरूले वित्तीय व्यवस्थापनलाई व्यवहारमै लागू गर्नुपर्ने बताउनु भयो ।
त्यसैगरी, सिद्धार्थ बैंकका शाखा प्रबन्धक कमल पौडेल र कर्जा शाखा प्रमुख युवराज खत्रीले वित्तीय साक्षरता र लगानीको विविधीकरण सम्बन्धी सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा लगानीलाई दीर्घकालीन रुपमा हेर्नुपर्ने, जोखिम न्यूनीकरणका उपायहरू अपनाउनुपर्ने, तथा सही क्षेत्र पहिचान गरी पूँजी परिचालन गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रम अनु छन्त्यालको अध्यक्षता, नवीन्दा गुप्ताको स्वागत मन्तव्य, तथा सुस्मा रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा दिव्यज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत BBA तेस्रो र पाँचौं सेमेस्टरका ४० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। रन्जु चौधरी, सुस्मा रेग्मी, दिशान्त हमाल, प्रकाश बस्याल, रोहित र इशालगायतले कार्यक्रम राम्रो भएको उल्लेख गर्दै यस्तै कार्यक्रम क्याम्पसले समय समयमा गर्नु पर्नेमा जोड दिनु भयो ।