प्रकाश न्यौपाने
फाल्गुन २० गते
नवलपरासी । संघीय सांसद तथा शिक्षा समिति सदस्य सरिता भुसालले अबको शिक्षालाई श्रम, उत्पादन, र रोजगारसँग जोडेर बजारीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। उहाँले शिक्षा सीप र संस्कारयुक्त हुनुपर्ने बताउँदै, शिक्षालाई रोजगारमुखी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
बर्दघाट नगरपालिकाद्वारा आयोजित शैक्षिक मेलाको उद्घाटन गर्दै सांसद भुसालले व्यवहारिक शिक्षामार्फत सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरी युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।
“पढेलेखेका मान्छेले अन्य काम गर्नु हुँदैन भन्ने मानसिकता निर्माण भयो। जब ती मान्छेहरू काममा नजोडिए, तब बेरोजगारी बढ्यो। अबको शिक्षा प्रणाली यस्तो हुनुपर्छ, जसले यही देशमा टिक्न सक्ने आधार तयार गर्छ,” सांसद भुसालले भन्नुभयो।
उहाँले शिक्षा ऐन संसद्मा छलफलका लागि समितिमा गएको जानकारी दिँदै, ऐन लागू भएपछि सामुदायिक विद्यालयको शिक्षा प्रणालीमा नयाँ मापदण्ड स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाले प्रविधिमैत्री डिजिटल शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा निरन्तर लागिपरेको बताउनुभयो। उहाँले प्राविधिक शिक्षाको माध्यमबाट सिकाइलाई उपलब्धिमूलक बनाउने आवश्यकता रहेको उल्लेख गर्नुभयो।
गत आर्थिक बर्षमा समेत प्रबिधिमा जोड दिदै शिक्षकहरुलाइ ल्यापटप बितरण गरेको नगरले चालु आर्थिक बर्षमा पनि बितरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय तथा शिक्षा शाखा प्रमुख लोकराज पन्थीले शिक्षा क्षेत्रका कतिपय चुनौतीहरू नीति तथा ऐन निर्माणको अभावका कारण उत्पन्न भएको धारणा राख्नुभयो।
शिक्षक, विद्यार्थी तथा अभिभावकगरि करिव ७ हजार जनाले शैक्षिक मेलाको अवलोकन गरेका छ्न । समृद्ध समुदाय विकास केन्द्रको सहकार्यमा सम्पन्न शैक्षिक मेलामा विद्यार्थीहरूले विज्ञान सामग्रीहरू प्रदर्शन गरिएको थियो । साथै, उनीहरूलाई व्यवहारिक ज्ञान तथा सीप अभिवृद्धि गराउने अभ्यासहरू समेत गराइएको थियो।