प्रकाश न्यौपाने
फाल्गुन २४ गते
नवलपरासी । बर्दघाट ९ मा रहेको पन्चनगर बजार विकास संस्थाको चौथो साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रामजी चापागाईंको अध्यक्षता तथा बर्दघाट–९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईंको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष चन्द्रकान्त चापागाईंले व्यवसाय दर्ताको आवश्यकतामा जोड दिँदै उद्योग वाणिज्य संघ, बजार विकास समिति, र स्थानीय सरकार मिलेर व्यवसाय दर्ता अभियान सञ्चालन गरिने उल्लेख गर्नु भयो । फोहोर ब्यवस्थापन र सुर्ती जन्य र मदिरा जन्य पदार्थहरुको बिक्री बितरणमा व्यवस्थित गर्न निजि क्षेत्रको सहयोग आवश्यक परिरहेको भनाइ राख्नु भयो । त्यस्तै पन्चनगर खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष यज्ञप्रसाद खनालले बजार विकास संस्थाले फोहोर व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नु भयो ।
साधारण सभामा पूर्वअध्यक्ष हरि अधिकारीले व्यवसायी सदस्यता वृद्धि गर्नुपर्ने बताउँदै, साविक पन्चनगरमा करिब ३०० व्यवसायी रहेकाले उनीहरूको दर्तामा जोड दिनुपर्नेमा ध्यानाकर्षण गराउनु भयो । व्यवसायीहरुलाई दर्ता गराइ उहाहरुको समस्या बजार बिकास सस्थासङ्गको समन्वयमा समाधान गर्नु पर्नेमा अधिकारीको जोड छ ।
संस्थाका अध्यक्ष रामजी चापागाईंले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै, अघिल्लो वर्षसम्म ८१ व्यवसायी आवद्ध रहेकोमा ११ जना थप भई हाल ९२ जना पुगेको जानकारी दिनु भयो । उहाले व्यवसायीहरूलाई कर र फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको जनाउँदै आगामी नीति तथा कार्यक्रमहरू सार्वजनिक गर्नु भयो । संस्थाले प्रति सदस्य २ सय रुपैयाँमा सदस्यता प्रदान गर्ने, लागू औषध तथा मदिराजन्य पदार्थको न्यूनीकरणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष चापागाईंले बताउनु भयो ।
सस्थाका महासचिव हेमलाल न्यौपानेले संस्थाको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै १३ वटा बैठक सम्पन्न भएको जानकारी दिनु भयो । संस्थाले बर्दघाट-८ मा २६३, ९ मा ६६०, १० मा ९२८, र ११ मा २०९ घरधुरी गरी २,०६० घरधुरीबाट फोहोर संकलन गरिरहेको समेत जानकारी गराउनु भयो ।
भने फोहोर व्यवस्थापनमा वर्गीकरणको योगदानका लागि चित्र भट्टराईलाई सम्मान गरिएको छ । संस्था २०७७ सालमा दर्ता भई हालसम्म सक्रिय रूपमा बजार व्यवस्थापनका विविध कार्यहरू सञ्चालन गरिरहेको छ। सस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम आर्यालले स्वागत मन्तव्य, महासचिव हेमलाल न्यौपानेको संचालन रहेको थियो । सभाले अध्यक्षको प्रगति प्रतिबेदन, महासचिव साङठनिक प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन सम्वसम्मत पारित गरेको छ ।