प्रकाश न्यौपाने
फाल्गुन २५, नवलपरासी
बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा गजल, गीत तथा चारु लेखन प्रशिक्षण तथा गायन कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूलाई लक्षित गरी आयोजित दुई दिने कार्यक्रममा गजल लेखनका विविध पक्षबारे विस्तृत छलफल गरिएको थियो।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाले भाषा, कला र साहित्य प्रवर्द्धन गर्न प्रज्ञा प्रतिष्ठानमार्फत विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले लुकेर बसेको प्रतिभालाई उजागर गर्ने कार्यमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
पहिलो दिन लेखन प्रशिक्षण र दोस्रो दिन गीत र गजल गायन विशेष आकर्षण बनेको थियो। ‘गोल्डेन आइडिया २०७४’ का विजेता गजलकार विजय गुप्ताले नेपाली तथा भोजपुरी भाषामा गजल प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन संगीतकार सुशील श्रेष्ठ र तेज अर्यालले समेत साथ दिनुभएको थियो।
कार्यक्रममा प्रतिष्ठानका कुलपति एवं गजलकार डा. घनश्याम न्यौपाने परिश्रमीले गजल संरचना, बहर, काफिया र रदीफको प्रयोगबारे सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा बर्दघाट नगरका सामुदायिक तथा संस्थागत ३७ वटा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतिष्ठानका संगीत विभाग संयोजक लोकजी मिजारको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले भाषा, कला र साहित्यले समाजलाई सही मार्गचित्र प्रदान गर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका दिप प्रकाश लोहनीले स्वागत मन्तव्य, सदस्य सचिव शरद पौडेलको कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा प्रज्ञा सभा सदस्य जिवनाथ पौडेलले धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरुले आयोजकले आगामी दिनमा समेत प्रशिक्षण कार्यक्रमलाई परिस्कृत गर्दै निरन्तरता दिन अग्रह गरेका छन ।