नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघबाट नेतृत्वको खोजी गरिएको छ । शनिबार बुटवलमा बुटवल उद्योग वाणिज्य संघ र झापाको दमक उद्योग वाणिज्य संघविच भेटघाट तथा छलफल भएको छ । संघको संस्थागत भ्रमणमा आएको दमक उद्योग वाणिज्य संघको टोलीलाई बुटवल उद्योग वाणिज्य संघमा स्वागत गर्नुको साथै दुई संघ बिच छलफल भएको हो ।छलफलमा दुबै संघले महासंघमा जिल्ला नगरबाट नेतृत्व खोजी गरेका छन् । उनीहरुले जिल्ला नगर उद्योग वाणिज्य संघहरु एक ठाउँमा हुने हो भने महासंघको नेतृत्व जिल्ला नगरको हातमा आउन कुनै समस्या नहुने विचार व्यक्त गरेका छन् । दमक उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले संस्थागत रुपमा हुने भ्रमणले एक आपसमा सिकाई आदान प्रदान र संस्थागत सम्बन्ध विकासमा मद्धत पुग्ने बताउनु भयो ।
उहाँले नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगरबाट पनि नेतृत्वमा आउनुपर्ने विचार व्यक्त गर्दै महासंघको निर्वाचनमा जिल्ला नगरको मतको स्टेन्थ ५० प्रतिशत रहेकाले जिल्ला नगर एक ठाउँमा हुने हो भने नेतृत्वमा आउन कुनै समस्या नहुने पनि भनाई राख्नुभयो ।
त्यसैगरी दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईले पनि बुटवलका अध्यक्ष अर्यालको कुरामा ऐक्यवद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा दुई संघ बिचको संस्थागत संरचना, सदस्यता, व्यवसायिक समस्या समाधानका लागि भएका प्रयासहरुका बारेमा छलफल भएको थियो ।कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले महासंघले उद्योगी व्यवसायिका समस्या समाधानका लागि पहल गरिरहेको बताउँदै नेपाल ग्रे लिष्टमा परेको र यसलाई सुधार गर्न नसके व्लाक लिष्टमा पर्ने र त्यसले झनै समस्या हुने भनाई राख्नुभयो । नेपाललाई ग्रे लिष्टबाट हटाउनका लागि महासंघले सरकारलाई दवाव दिईने बताउँदै अन्य समस्याहरु समाधानका लागि काम गरिरहेको भनाई राख्नुभयो । उहाँले महासंघमा जिल्ला नगरको उपस्थिती बढाउनकै लागि पदाधिकारीको संख्या थप गरिएको बताउँदै यसले केही सुधार हुने आशा राख्नुभयो ।
त्यस्तै दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य गोकुल श्रेष्ठले व्यवसायीका समस्या समाधानका लागि महासंघले पहल गरिरहेको र अझै जिल्लानगरबाट पनि महासंघलाई घचघच्याईरहनु पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले ग्रे लिष्टले व्यवसायीहरुलाई समस्या हुने बताउँदै ग्रे लिष्टबाट निकाल्नको लागि सरकार गम्भिर हुनु पर्ने उहाँको भनाई छ ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, कार्यकारी निर्देशक मदनकुमार कार्की लगायतले भनाई राख्नुभएको थियो । भ्रमणमा दलकको १४ सदस्य टोली आएको थियो । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु सहभागि हुनुहुन्थ्यो ।