प्रधानमन्त्रीले भने: चिप्ले किराको गतिमा हिडेकाे मेलम्ची आयोजना अहिले जापानिज कार जस्तै दौडिएको छ

प्रकाशित मिति:

काठमाडौं पुष, १९ । प्रधानमन्त्री केपी ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको बताएका छन् । उनले आयोजनाको काममा अन्यौलता छाएको नठान्न सबैलाई आग्रह गरे । उनले आयोजनाको कामले एक वर्षयता तीब्रता लिएको उल्लेख गर्दै समयमै कामले पूर्णता पाउने विश्वास व्यक्त गरे । बिहीबार ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले २७ वर्ष चिप्ले किराको गतिमा अघि बढेको मेलम्ची खानेपानी आयोजनाको काम एक वर्षयता जापानिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको जस्ताे दौडिएकाे बताए । आयाेजनाकाे काममा अहिले अलिकति गतिरोध आए पनि समयमै पूर्णता दिन सरकार प्रतिवद्ध रहेको बताए ।

उनले मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै परिस्थितिमा अघि बढाउन सरकार तयार रहेको स्पष्ट पारेका थिए । इटालियन ठेकेदार कम्पनी सिएमसीले बजेट अभावको कारण देखाउँदै काम छोडेर गइरहेकाे बेला प्रधानमन्त्री ओलीले आयोजनाको कामलाई पूर्णता दिन ढिलाई नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले बागमती नदीलाई नुहाउन मिल्ने गरी पूरानै अवस्थामा परिणत गर्ने प्रतिवद्धतालाई समेत दोहोर्‍याए । उनले काठमाडौं उपत्यकामा स्वच्छ हावा, सफा र पिउन योग्य पानी बनाउने संकल्पप्रति सरकार प्रतिवद्ध रहेको पनि बताए ।ललितपुरमा निर्माण हुन लागेकाे आयाेजना चाइनाको साफबोन वाटर सर्भिस होल्डिङले कम्पनीले जिम्मेवारी लिएको छ । ६० करोड ७५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रशोधन केन्द्र ३० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । प्रधानमन्त्री ओलीले प्रशोधन केन्द्रको निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।