स्याङ्जाका सबै महिला दलित जनप्रतिनिधि एकै ठाउँमा- नेतृत्व विकास गर्दै सक्षमता अभिवृद्धिमा जोड

प्रकाशित मिति:

स्याङ्जा  – जातीय विभेद उन्मुलन सम्बन्धी अन्तराष्ट्रिय दिवसको सन्दर्भ पारेर सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा स्याङ्जा जिल्लाका तीवनवटै तहका दलित महिला जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ । पूर्व मन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य सिताकुमारी सुन्दासको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा स्याङ्जा जिल्लाका स्थानीय तहका दलित महिला वडा सदस्यहरु र कार्यपालिका सदस्यहरु सहित करिब १०० जनाको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सुन्दासले जातीय र लैङ्गिक विभेद नै विकास र समृद्धिको बादक रहेको बताउदैँ दलित महिला जनप्रतिनिधिहरुले आफ्नो क्षमता वृद्धि गरी सामाजिक जागरण ल्याउनुपर्ने कुरामा जोड दिनु भयो । उहाँले अझै पनि समाजमा कहिँ कतै जातीय विभेद तथा छुवाछुत कायम रहेको बताउँदै सचेतना कार्यक्रम एवम् कानूनी प्रक्रियाबाट त्यस्ता समस्याको समाधान गर्नु पर्ने कुरामा जोड दिनु भयो । उहाँले दलित महिलाहरुले समग्र देशको विकास र समृद्धिको लागि आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिन सक्षम रहेको हुदाँ राजनैतिक परिवर्तनका उपलब्धिहरु रक्षा गर्दै संविधानको कानून बनाएर पूर्ण कार्यान्वयन गर्न सकेमा मात्र दलित समुदाय र समग्र नेपालीहरुको अधिकार रक्षा हुन सक्ने बताउनु भयो ।

जिल्ला समन्वय उपप्रमुख खडकराज सुवेदीले सामाजिक रुपान्तरणको लागि कुनै पनि विभेद अन्त्य गर्दै दलित महिलाहरुको बहुआयमिक क्षेत्रमा सक्षमता अभिवृद्धि गर्नु पर्ने कुरामा जोड दिनु भयो ।कार्यक्रममा भिरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्मचार्यले स्थानीय सरकारले सिमान्तकृत समुदायको सशक्तिकरण र आयआर्जनमा टेवा पुर्याउने गरी नीति, कार्यक्रम बनाएको बताउनु भयो र आगामी दिनमा तीन वटै तहका सरकारको समन्वय र सहकार्यमा दलित समूदायको क्षमता विकास सहित छुवाछुत अन्त्यको लागि कार्यक्रमहरु अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो ।प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दलित महिलाका हक र अधिकार सम्बन्धमा भएका कानूनी र संवैधानिक व्यवस्थाबारे जानकारी दिदैँ व्यक्तिगत घटना दर्ता र नागरिकतामा दलित समुदायले झेलेका समस्या समाधानका उपायबारे सहजिकरण गर्दै समाजमा सचेतना बाट नै छुवाछुत, बालबिबाह लगायतका सामाजिक विकृतिको अन्त्य गर्न सकिने कुरा बताउनु भयो ।अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङले जातीय विभेदको अन्त्य गर्दै सामाजिक न्याय र समानता सहितको समुन्त समाज बनाउने सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने कुरामा जोड दिनु भयो ।कार्यक्रममा योजना तर्जुमा र बजेट निर्माण प्रकियामा दलित महिला जनप्रतिनिधिको भूमिका सम्बन्धमा प्रशिक्षक लिलबहादूर रम्पालले सहजिकरण गर्नु भएको थियो भने जातीय विभेद र सोको कानूनी व्यवस्थाबारे प्रहरी कार्यालय दहथुमका इन्चार्ज प्रविण कंडेले प्रशिक्षण गराउनु भएको थियो ।

कार्यक्रम भिरकोट नगरपालिका उपप्रमुख भगवती देवी रेग्मी, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक सालिकराम पौडेल, जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य दलित महिला वडा सदस्य जिल्ला संयोजक सविता सिंह विश्वकर्माले गर्नु भएको थियो । कार्यक्रमको समन्वय भिरकोट नगरपालिका र दलित समुदायको परम्परागत कला तथा सीप विकास संस्थाले गरेको थियो । हरेक वर्ष मार्च २१ तारिक दिनमा जातीय विभेद उन्मुलन सम्बन्धी अन्तराष्ट्रिय दिवस मनाइन्छ ।