फोनिज कपिलवस्तुको अध्यक्षमा चौधरी

प्रकाशित मिति:

सरिता थारु कपिलवस्तु , चैत्र ८ । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) कपिलवस्तुको अध्यक्षमा राम अवतार चौधरी सर्वसम्मत रूपमा चयन हुनुभएको छ । बाणगंगा नगरपालिका–४ स्थित सामुदायिक रेडियो बुद्ध आवाजको प्रांगणमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रचना खासु मगर, सचिवमा सिर्जना थारु, कोषाध्यक्षमा उत्तम चौधरी, सहसचिवमा नरेश थारु चयन हुनुभएको छ भने सदस्यहरूमा सरस्वती श्रेष्ठ, मनिषा मगर, सुमन थारु रहनुभएको छ ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय सदस्य कमलसिंह थारुले सफल कार्यकालको शुभकामना दिदै फोनिजलाई जिल्लामा चलायमान बनाउन आफुले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले आदिवासी जनजातिको हक, अधिकार र पहिचान स्थापित गर्न पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउदै आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारुले सञ्चार जगतमा आदिवासी जनजातिको उपस्थिति अझ मजबुत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।


थारु कल्याणकारी सभाका पूर्व केन्द्रीय सदस्य जन्जिरप्रसाद थारु, थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य उमाशंकर चौधरीले आदिवासी समुदायको हकहितमा काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिंदै फोनिजको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँनुभयो । कार्यक्रम अध्यक्ष सैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा सचिव सिर्जना थारुको सञ्चालनमा सम्पन्न भएको उक्त अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
यता नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) कपिलवस्तुको नवनिर्वाचित अध्यक्ष राम अवतार चौधरीले आदिवासी जनजातिको हकअधिकारको रक्षा तथा सञ्चार क्षेत्रमा उनीहरूको पहिचान स्थापित गर्न आफूहरूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आदिवासी जनजातिको संस्कृतिको संरक्षण, पहिचानको प्रवद्र्धन र समाजका हरेक क्षेत्रमा समान सहभागिता सुनिश्चित गराउने लक्ष्य लिएको बताउँदैे आदिवासी पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने समेत बताउनुभयो । उहाँले आफूलाई नेतृत्वमा चयन गरिदिनु भएकामा सबै धन्यवाद व्यक्त गर्दै फोनिजलाई थप सशक्त बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।