प्रकाश न्यौपाने
चैत ८ गते
नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले गर्ने कामकारबाहीमा कांग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने बताउनु भएको छ । नागरिक असन्तुष्ट हुने कार्य सरकारले गर्न नहुने बताउँदै उनले राम्रो कामलाई नराम्रो कामले ओझेलमा पार्न नदिन कांग्रेसले सतर्क रहनुपर्ने धारणा राख्नु भएको हो ।
नेपाली कांग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर २ को भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नु भयो,- “सरकारले सुधारका कामहरू धेरै गरेको छ, तर कहिलेकाहीँ जनताले नचाहेको काममा हात हाल्न खोज्दा निराशा बढ्ने रहेछ।”
उहाले पार्टीको तर्फबाट स्वयम् सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई संगै राखेर जनतामा निराशा पैदा गर्ने छुट नभएको स्पष्ट पारिसकेको उल्लेख गर्नु भयो । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले प्रदेशलाई पर्याप्त अधिकार प्रत्यायोजन गर्न नसक्दा संघीयताप्रति जनतामा असन्तुष्टि देखिएको भनाइ राख्नु भयो । “संघीयताको विषयमा प्रश्न गर्नु भन्दा अब यसलाई कसरी मजबुत बनाउने भन्नेबारे केन्द्रदेखि स्थानीय तहसम्म गम्भीर बहस आवश्यक छ,” उहाले भन्नू भयो । थापाले सामाजिक सञ्जालमा फैलने भ्रम हटाउँदै स्थानीय तहमा भएका असल अभ्यासबारे सचेतना फैलाउनु आवश्यक रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलले जिल्लामा देखिएको गुटबन्दी अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने जोड दिनु भयो । त्यस्तै, केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले आफ्नो क्षेत्रमा विकास निर्माण तथा नीतिगत सुधारका लागि तदारुकतासाथ कार्य गरिरहेको बताउनु भयो ।
नेपाली काग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति माधब पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नवलपरासीका जिल्ला नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । महामन्त्री थापा फाल्गुनको अन्तिम हप्ता समेत नवलपरासी आउनु भएको थियो । १५ दिन अगाडि जिल्लामा आएका महामन्त्री थापा पुन जिल्लामा आउनुले राजनितीक रुपमा नवलपरासी तरङ्ग उत्पन्न गरेको छ ।