स्पेनको आल्टिया नगरपालिकाका मेयर जारागोजी र नेपाल समाज एसोसिएसनका पदाधिकारीबीच भेटवार्ता

प्रकाशित मिति:

स्पेन, ८ चैत । स्पेनको कोस्टाब्लान्का आल्टिया नगरपालिकाका मेयर डिएगो जारागोजी र नेपाल समाज एसोसिएसनका पदाधिकारीबीच भेटवार्ता भएको छ ।

 

मेयर जारागोजीसँग एसोसिएसनका अध्यक्ष केशर बहादुर थापा र उपाध्यक्ष डा. सबिता पाठकले भेटबार्ता गर्नुभएको हो । भेटवार्तामा नेपाली समुदायको अवस्था, दुई देशको सामाजिक, सांस्कृतिक, पर्यटकीय र आर्थिक सम्बन्ध बिस्तार लगायतका विषयमा छलफल भएको थियो। सो अवसरमा अध्यक्ष थापाले नेपाली समुदाय र पर्यटकहरुको निम्ति गुम्बा-मन्दिर निर्माणका लागि जग्गा उपलब्ध गराउन र गुम्बा-मन्दिर निर्माणमा सहयोग गर्न मेयर जारागोजी समक्ष आग्रह गर्नुभएको थियोे । यस्तै सो क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको अवस्था, नेपालीले भोग्नुपरेको समस्या लगायतका विषयमा समेत थापाले जारोगोजीलाई जानकारी गराउनुभएको थियोे ।

 

भेटवार्ताको अवसरमा एसोसिएसनकी उपाध्यक्ष डा. पाठकले मेयर जारागोजीलाई गुम्बा मन्दिर निमार्णका लागि ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाउनु भएको थियोे । गुम्बा-मन्दिर निमार्णले नेपाली समुदाय र यहाँका स्थानीय समुदाय बीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै पाठकले सो कार्यमा सहयोग गर्न मेयरलाई आग्रह समेत गर्नुभएको थियोे ।

 

सो अवसरमा आफ्ना भनाइ राख्दै मेयर जारागोजीले गुम्बा-मन्दिर निर्माणका लागि जग्गा उपलब्ध नहुँदासम्मका लागि नेपाली चाडपर्ब मनाउनका लागि नि:शुल्क रुपमा कार्यक्रम स्थल उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो। समाज निर्माणमा सधै सकारात्मक उर्जाका साथ लागि पर्ने उल्लेख गर्दै उहाँले नेपाली समुदायको सहयोगका लागि नगरपालिका सदा तत्पर रहेको बताउनुभयो । मेयर जारागोजीले नेपाली समुदायको कुनै पनि कार्यक्रमका लागि नेपाल समाज एसोसिएसनलाई सार्वजनिक स्थान आवश्यक परेमा नि:शुल्क रुपमा उपलब्ध गराउने वचन समेत दिनुभएको थियोे।

 

सो अवसरमा दुई देशका नगरपालिकाबीच भविष्यमा आपसी सम्बन्धलाई निरन्तरता दिने बिषयमा समेत कुराकानी भएको थियो। पछिल्लो समयममा नेपालीले भोग्नुपरेको समस्यालाई समाधान गर्नका लागि यथाशीघ्र पहल गरिदिन मेयरलाई विशेष आग्रह गरिएको एसोसिएसनले जनाएको छ । भेटवार्तामा नगरपालिकाका जोआकिम देवेसा क्रेस्पो, काउन्सिलर लगायतको  सहभागिता रहेको भेटवार्तामा सहभागी पत्रकार असिम लोप्चनले जानकारी दिनुभयो ।