लिस्बन,९ चैत । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्व अध्यक्ष डा. शेष घले पोर्चुगल आउने भएका छन् ।
गैरआवासीय नेपाली संघ, पोर्चुगलले यही मार्च २५ तारिखका दिन राजधानी लिस्बनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न संयोजक घले पोर्चुगल आउने भएका हुन् । युरोप भ्रमणमा रहनुभएका घले पोर्चुगल आउने कार्यक्रम तय भएको गैरआवासीय नेपाली संघ पोर्चुगलकी अध्यक्ष दीपा काफ्लेले जानकारी दिइन् । कार्यक्रममा सहभागी हुन संयोजक घले सँगै उच्चस्तरीय समितिका सदस्यहरू र एनआरएनए अभियन्ताहरु लिस्बन आउने काफ्लेले बताइन् ।
संघको आगामी मे ३–५ मा काठमाडौंमा हुने एकताको महाधिवेशनका लागि अन्तर्राष्ट्रियस्तरमा छलफल तथा अन्तरक्रियालाई प्रभावकारी बनाउन विश्वका विभिन्न देशमा रहेका एनआरएनए अभियन्ताहरूसँग भेटघाट तथा अन्तरक्रियाका लागि संयोजक घले हाल विभिन्न देशको भ्रमणमा छन् । पूर्वनिर्धारित कार्यतालिका बमोजिम संयोजक घलेसहितको उच्चस्तरीय समितिका सदस्य र एनआरएनए अभियन्ताहरु बेलायतमा मार्च २३, बेल्जियममा मार्च २४ र पोर्चुगलमा मार्च २५ मा आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।
पोर्चुगलमा घले नेतृत्वको उच्चस्तरीय समितिका अभियन्ताहरुले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारी, पूर्व अध्यक्षहरु, एनआरएनए अभियन्ता, संघका सदस्यहरू एवं पोर्चुगलबासी नेपालीसंग भेटघाट तथा अन्तरसम्बाद गर्ने कार्यक्रम तय भएको एनआरएनए पोर्चुगलका उपाध्यक्ष एवं कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक सुजन लामा मोक्तानले जानकारी दिए । मंगलबार हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मोक्तानले बताए । कार्यक्रममा सहभागी हुन एनआरएनए अभियन्ता, संघमा आबद्ध सदस्यहरु, पोर्चुगलमा क्रियाशील नेपाली संघ-संस्था लगायत पोर्चुगलबासी नेपालीलाई संघले विशेष आग्रह समेत गरेको छ ।
केन्द्रीय अधिवेशनको मितितिथि तय भएसँगै उच्चस्तरीय समितिले यसअघि नै अनलाइन मार्फत सदस्यता खुला गरिसकेको छ । संघको सदस्यताका लागि यही मार्च ३१ सम्म नि:शुल्क आवेदन दिन सकिने जनाउँदै समितिले संघमा आबद्ध हुन विशेष आह्वान समेत गरेको छ ।