तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले महिलाहरुको नेतृत्व र ब्यक्तित्व विकासका लागि शसक्तिकरण अभिबृद्धिले महत्वपुर्ण भूमिका खेल्ने बताउनुभएको छ । नेपालको कानुन र संबिधान महिला मैत्री रहेको औंल्याउदै प्रमुख खाँणले राज्य तथा समाजका हरेक निकाय र भौतिक, आर्थिक र सामाजिक गतिविधिमा महिला सहभागिता अनिवार्य गरिएकाले महिलाहरुको क्षमता, नेतृत्व र ब्यक्तित्व विकासका लागि महिलाहरुलाई शसक्तिकरण गर्दै आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका लागेको बताउनुभयो ।तिलोत्तमा नगरपालिकाको सहयोगमा महिला शसक्तिकरण अनुसन्धान केन्द्र रुपन्देहीले आयोजना गरेको एक दिने महिला शसक्तिकरण एवम् क्षमता अभिबृद्धि सम्वन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले नगर क्षेत्रका महिलाहरुलाई शसक्तिकरण गर्दै इलमी तथा उद्यमी महिलाहरुले उत्पादन गरेका सामानको बजार प्रवद्र्धन तथा विक्री वितरणका लागि स्थायी हाटबजार विक्री केन्द्र संचालन गर्ने तयारीमा नगरपालिका रहेको वताउनुभयो ।
नेपाल सहित संसारका ३७ वटा देशका १३७ वटा प्रदेश तथा स्थानीय तहले भागलिएको नागरिकको सहभागिता असल अभ्यासका लागि कार्यक्रममा तिलोत्तमा नगरपालिका ४० औं नम्बरमा छनौट भएको जानकारी गराउंदै तिलोत्तमा लाई संसारमै उत्कृष्ट नगरपालिका वनाउन एसएमएस भोटिङका लागि सबैलाई आग्रह गर्नुभयो ।तिलोत्तमा नगरपालिका महिला, वालवालिका तथा ज्येष्ठ नागरिक समन्वय शाखा प्रमुख सम्झना भण्डारीले तिलोत्तमा नगरपालिका लैङ्गिक मैत्री नगरपालिका बनाउने अभियानमा रहेकाले यसका लागि सबैका साथ सहयोगको आवश्यक्ता औंल्याउनु भयो ।महिला शसक्तिकरण अनुसन्धान केन्द्र रेखा ज्ञवाली बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शंकरनगर सामुदायिक वनका सचिव कालिका अधिकारी, तालिममा सहभागि रुपा केसी, उशा शर्मा, गिता पौडेल, ईन्दिरा रिजाललगायतले बोल्दै तालिमले महिलाहरुको क्षमता, नेतृत्व र ब्यक्तित्व विकासमा सहयोगी भूमिका खेल्ने धारणा राख्नुभयो । तिलोत्तमा नगरपालिकाका १७ वटा वडाका ७० जना महिलाहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक राजेन्द्र लम्सालले सहजीकरण गर्नुभएको थियो ।