बर्दघाटमा त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन महोत्सव सञ्चालन

प्रकाशित मिति:

प्रकाश न्यौपाने
चैत्र १६
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन महोत्सव एवं पर्या काव्य गोष्ठी सुरु भएको छ। बर्दघाट नगरभित्रका ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवर्द्धन तथा प्रचार गर्ने उद्देश्यले बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा महोत्सव सञ्चालन गरिएको हो।


शनिबार बर्दघाट नगरपालिकामा औपचारिक रूपमा उद्घाटन गरिएको महोत्सवको पहिलो दिन त्रिनेत्र धाम, बुद्धमंगल ताल, वनदेवी र कञ्चनगढी क्षेत्रको अध्ययन तथा अवलोकन गरिएको थियो। छिमेकी राष्ट्र भारतका विभिन्न स्थानहरू साथै सिक्किम, पोखरा, तनहुँ, चितवन, गैडाकोट लगायत क्षेत्रबाट आएका साहित्यकार तथा कलाकारहरूले त्रिवेणी मोक्षधामको समेत अवलोकन गरेका थिए।


महोत्सवको उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरभित्रका सम्पदाहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्दै नगरलाई चिनाउने कार्यमा साहित्य तथा सिर्जनाले अतुलनीय योगदान गरेको बताउनुभयो। भौतिक विकाससँगै साहित्य, कला र सांस्कृतिक विकासले समाज रुपान्तरण गर्ने उहाँको भनाइ थियो।


त्यसैगरी, बर्दघाट नगरपालिका वडा नं. १६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक भीमकाजि गुरुङले साहित्यकारहरूलाई बर्दघाट नगरको प्रचार–प्रसार गर्न आफ्नो कलम चलाउन आग्रह गर्नुभयो।

साहित्यिक उत्सवमा सहभागी स्रष्टाहरूलाई पहिलो दिन बर्दघाट नगरपालिका अन्तर्गत रहेको त्रिनेत्रेश्वर धाम, बुद्धमंगल ताल, वनदेवी मन्दिर हुँदै कञ्चनगढी क्षेत्रको अध्ययन गराइएको थियो। महोत्सवको दोस्रो दिन आइतबार सहिद पार्क, बाउन्नघोला सिमसार क्षेत्र र बर्दघाट–४ स्थित शिवालय मन्दिरको अवलोकन गराउने कार्यक्रम रहेको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीले जानकारी दिनुभयो। यसैगरी, रामग्राम नगरपालिकामा रहेको बुद्धको एक मात्र अस्तुधातु रहेको रामग्राम स्तूपको अवलोकन र अन्तिम दिन पर्या काव्य गोष्ठी अन्तर्गत कार्यपत्र प्रस्तुति कार्यक्रम राखिएको छ।


प्रतिष्ठानका सदस्य सचिव सरद पौडेलको सञ्चालन तथा भाषा साहित्य विभागका संयोजक हुमनाथ आचार्यको स्वागत मन्तव्यबाट कार्यक्रमको शुभारम्भ भएको थियो। कार्यक्रममा सहभागी भारतीय साहित्यकारहरूले नेपाल पर्यटनका हिसाबले सुन्दर मुलुक रहेको उल्लेख गर्दै बर्दघाट नगरको पर्यटन प्रवर्द्धनमा आफ्नो लेख, रचना तथा सिर्जनामार्फत टेवा पुर्‍याउने प्रतिबद्धता जनाएका थिए। उनीहरूले नेपाल–भारतबीच गहिरो आपसी सद्भाव रहेको उल्लेख गर्दै भाषा, धर्म, संस्कृति र परम्परामा समानता देखिएकाले नेपाल विशेष आकर्षक लागेको धारणा व्यक्त गरेका थिए।