कपिलवस्तुमा वरघर प्रथालाई कानुनी मान्यता दिनुपर्नेमा जोड

प्रकाशित मिति:

कमल चौधरी, २४ चैत, कपिलवस्तु।
लामो समयदेखि थारु समुदायमा प्रचलित वरघर प्रथालाई कानुनी मान्यता दिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन्। शनिबार कपिलवस्तु जिल्लाको बाणगंगा–४ स्थित वीवी स्मृति भवनमा आयोजित वरघरहरुको भेलाले उक्त माग अघि सारेको हो।

वक्ताहरूले थारु समुदायमा लोप हुन थालेका संस्कार, संस्कृति र पहिचानको संरक्षणमा वरघर प्रथाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएका छन्।

बाणगंगा नगरपालिका–८, मोर्मि निवासी वरघर बाबुराम थारुले एक गाउँमा कम्तीमा एक जना वरघर अनिवार्य हुनुपर्ने धारणा व्यक्त गरे। जन्म, विवाहदेखि मृत्यु संस्कारसम्म वरघर आवश्यक हुने उल्लेख गर्दै उनले यो प्रथालाई कानुनी मान्यता दिइनुपर्नेमा जोड दिए।

त्यस्तै, बाणगंगा नगरपालिका–५, कोपवाका वरघर शिवप्रसाद थारुले वरघर प्रथालाई निरन्तरता दिनु जरुरी रहेको बताए। “हाम्रो पुर्खाहरूले निरन्तरता दिएको यो संस्कार र परम्परालाई हामीले समय सापेक्ष कानुनी रूपमा अगाडि बढाउनुपर्छ,” उनले भने।

बाणगंगामा राजेन्द्र थारुको नेतृत्वमा वरघर संघ गठन

वरघर भेलाले थारु कल्याणकारी सभाका उपसभापति ऋषिराम थारुको अध्यक्षता र वरघर संघका केन्द्रीय सदस्य अशाराम थारुको प्रमुख आतिथ्यतामा राजेन्द्र थारुको (देउवापार) अध्यक्षतामा १९ सदस्यीय नगर वरघर कार्यसमिति गठन गरेको छ।

समितिका वरिष्ठ उपाध्यक्ष तुलसीप्रसाद चौधरी (गजेहडा), उपाध्यक्ष शिवप्रसाद थारु (कोपवा), सचिव सुरजलाल थारु (बभनी), सह–सचिव नेखाई थारु (ढोडेकोल), र कोषाध्यक्ष बीरबहादुर थारु (सिद्धिपुर) चयन भएका छन्।
अन्य सदस्यहरूमा बाबुराम थारु (मोर्मि), भिखु प्रसाद थारु (कर्महना), बसुदेव थारु (सिउटी), जगप्रसाद थारु (चितरपुर), टेमबहादुर थारु, रामकिशन थारु (ठाँठी), भोनु थारु, बुधिराम थारु (झण्डा), नरेश चौधरी (मनोहरापुर), रमेशप्रसाद चौधरी (तिनघरवा), भदै थारु (ओदारी), दुखाई थारु (मटेरीया) र रामकुमार चौधरी (औरहिया) रहेका छन्।

वरघर नगर भेला कार्यक्रममा वरघर संघका केन्द्रीय सदस्य अशाराम थारु, थारु कल्याणकारी सभा बुद्धभूमी नगर सभापति सन्तराम थारु, बाणगंगा नगर उपसभापति ऋषिराम थारु, र थारु पत्रकार संघका पूर्व सचिव कमल चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उनीहरूले थारु समुदायको पहिचान, संस्कार र संस्कृतिको संरक्षणका लागि वरघर प्रथालाई निरन्तरता दिँदै यसलाई कानुनी मान्यता दिनुपर्नेमा जोड दिएका थिए।