शिक्षकहरूका जायज माग सम्बोधन गरी शैक्षिक वातावरण बनाउन बुटवल उपमहानगरपालिकाद्वारा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति:

नतिजा प्रकाशन र भर्ना अभियान प्रभावित हुने चिन्ता

बुटवल, चैत ।बुटवल उपमहानगरपालिकाले शिक्षकहरूका जायज मागहरू सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग राखेर शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएपछि विद्यार्थीहरूको बार्षिक नतिजा प्रकाशन तथा नयाँ शैक्षिक सत्रको भर्ना अभियान लगायतका गतिविधिहरू प्रभावित हुनसक्ने चिन्ता व्यक्त गर्दै शिक्षकहरूका जायज माग सम्बोधन गर्न उपमहानगरपालिकाले सरकारको ध्यानाकर्षण गराएको हो ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले आज एक प्रेस विज्ञप्ति जारी गरी शिक्षकहरूको। आन्दोलनका कारण विद्यालयहरूको नतिजा प्रकाशन र नयाँ शैक्षिक वर्ष २०८२ को भर्ना अभियान लगायतका गतिविधिहरू प्रभावित भएको भन्दै बुटवल उपमहानगरपालिकाले चिन्ता व्यक्त गरेका हुन् ।नगर प्रमुख खेलराज पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विगतमा नेपाल शिक्षक महासंघसँग भएका सम्झौताहरू कार्यान्वयन नहुनु, स्थायित्व, सेवा सुविधा र सरुवा–बढुवा जस्ता विषयमा सहमति बारम्बार उल्लंघन हुनुले अहिलेको आन्दोलन जन्मिएको हो । त्यसैले समस्याको दीर्घकालीन समाधानका लागि ऐनमा शिक्षकका सरोकारका विषय समावेश गरी ऐन जारी गर्न र उपयुक्त नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछौ ।

शिक्षकको स्थायित्व, सेवा सुविधा र आत्मसम्मान कायम राख्न सक्ने नीति र वातावरण आवश्यक भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ( “शिक्षकका मागहरूको उचित सम्बोधनले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीको पठनपाठनमा सुधार आउने विश्वास छ ।”शिक्षक आन्दोलनप्रति गम्भीर हुन माग गर्दै नगर प्रमुख पाण्डेयले तत्काल समस्या समाधान गरी शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाइदिन पनि अनुरोध गरेका छन् ।नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत्र २० गतेदेखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।