महोत्सव चैत २९ देखि बैशाख १० गतेसम्म सञ्चालन हुने
भरत प्रधान
रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा ‘तेस्रो कान्छीबजार कृषि तथा पर्यटन महोत्सव’हुँदै छ।
दुर्गा मन्दिर टोल बिकास संस्था तिलोत्तमा-१० को आयोजनामा यही चैत २९ गतेदेखि बैशाख १० गतेसम्म तेस्रो कान्छीबजार कृषि तथा पर्यटन महोत्सव हुन लागेको हो । स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने, स्थानीय प्रतिभाको प्रस्फुटन गर्ने र स्थानीयबासीलाई मनोरञ्जन प्रदान गर्ने उद्धेश्य अनुरुप नयाँ वर्ष २०८२ को अवसर पारेर महोत्सवको आयोजना गरिएको टोल बिकास संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । महोत्सवले कान्छीबजारको प्रचारप्रसार गर्ने, कान्छीबजारको ब्यापार–ब्यबसायमा टेवा पू¥याउने, स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने अपेक्षा लिइएको श्रेष्ठले बताए ।
मेलामा चर्चित लोकदोहोरी गायक बद्रि पँगेनी, लोकदोहोरी गायक पशुपति शर्मा, लोकगायक प्रकाश सपुत, गायक शिव परियार, लोकदोहोरी गायिका शान्ती श्री परियार, प्रमोद खरेल, हेमन्त शर्मा, ज्योती मगर, प्रिती आले, लाहुरे, एलिना चौहान, चर्चित भोजपुरी गायक खेसारी लाल, अन्नु चौधरी, प्रिती पासवानलगायत राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ । यस्तै महोत्सवमा विशेष आकर्षणका रुपमा “कान्छीबजार डान्स आइडल” का साथै खेलकुद प्रतियोगिता समेत समावेश गरिएको छ।
संस्थाका अनुसार मेलामा कृषि, पर्यटन, खाद्यान्न, दैनिक उपभोग्य सामाग्री, खानाका परिकारलगायत विभिन्न खालका व्यवसायीक स्टलसमेत रहने बताइएको छ। भने युवा तथा बालबालिकाको मनोरञ्जनका लागि पिङ, झुला लगायतका मनोरञ्जनका सामाग्रीसहित बाल उद्यान रहने छ ।
मेला प्रत्येक दिनको सांझ ४ बजे देखि रातको ११ बजे सम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । अहिले स्थल व्यवस्थापन, स्टल निर्माण, साजसज्जा, स्टेज निर्माणलगायत मेलाको ब्यापक तयारी भइरहेको छ । स्थानीय स्तरमा आयोजित मेलाको अवलोकन गर्न सँस्थाले नगर क्षेत्र वरपरका बासिन्दालाई विशेष आग्रहसमेत गरेको छ ।