बुटवलमा राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र बितरण सुरु

प्रकाशित मिति:

बुटवल-बुटवलमा आजदेखि राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र बितरण सुरु भएको छ । बिहीबार बुटवल उपमहानगरपालिका वडा नं ८ को वडा कार्यालयमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सुभारम्भ गरे । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले वडा नं ८ का जेष्ठ नागरिक चुन्नप्रसाद पौडेललाई राष्ट्रिय परिचयपत्र बितरण गरेर कार्यक्रमको सुभारम्भ गरेका हुन् ।सो अवसरमा नगर प्रमुख पाण्डेयले जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट बितरण हुने राष्ट्रिय परिचयपत्र र गरिब परिचयपत्र जनताको सहजताका लागि स्थानीय तहका वडा कार्यालय मार्फत बितरण गर्न लागिएको भन्दै त्यसमा वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूले सहजिकरण गर्नुपर्नेमा जोड दिए ।

वडा बाटै राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र बितरण गर्ने ब्यवस्था हुँदा जनतालाई सहज हुने भन्दै नगर प्रमुख पाण्डेयले जनतालाई सहजरूपमा सेवा प्रवाह गर्नु जनप्रतिनिधिको जिम्मेवारी र दायित्व भएको उल्लेख गरे ।परिचयपत्र बितरण गर्दा टोकन प्रणाली लागु गरी आफ्नो पालोमा बोलाउने र जेष्ठ नागरिक तथा असक्तहरूलाई प्राथमिकता दिन पनि नगर प्रमुख पाण्डेले आग्रह गरे ।उपप्रमुख सावित्रा देवी अर्यालले जनताको सहजताका लागि स्थानीय तहमार्फत परिचयपत्र बितरण गर्ने ब्यवस्था भएको भन्दै सहज रूपमा परिचयपत्र बितरण गर्ने कार्यमा जनप्रतिनिधिले सहजिकरण गर्नुपर्नेमा जोड दिइन् ।परिचयपत्र बितरणका क्रममा कुनै समस्याआएमा सम्बन्धित निकायसँग छलफल गरेर समाधान गरिने उनले बताइन् ।बुटवल उपमहानगरपालिका वडा नं ८ का कार्यबाहक वडा अध्यक्ष तुलबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा वडा सचिव बिष्णु श्रेष्ठले परिचयपत्र बितरणको तयारी र प्रक्रिया बारे अवगत गराएका थिए ।

त्यस्तै बुटवलको वडा नं ३ र ४ मा पनि आजैदेखि परिचयपत्र बितरण कार्य सुरु भएको छ ।तीनवटै वडामा नगर प्रमुख पाण्डेय,उपप्रमुख अर्यालले सम्बन्धित वडाका जेष्ठ नागरिकहरूलाई परिचयपत्र प्रदान गरी कार्यक्रमको सुभारम्भ गरेका थिए ।पहिलो चरणमा बुटवलको वडा नं २,३,४,५,७,८ र ९ सम्मका ४६ हजार ९८० जनालाई राष्ट्रिय परिचयपत्र तथा १ हजार २६२ गरिब घरपरिवार परिचयपत्र बितरण गर्ने तयारी भएको बुटवल उपमहानगरपालिका पञ्जिकरण शाखाकी अधिकृत संगिता अर्यालले जानकारी दिइन् ।रूपन्देही जिल्लामा पहिलोपटक बुटवलबाट परिचयपत्र बितरण कार्य सुरुवात भएको हो । परिचयपत्र लिन स्वयं ब्यक्ति उपस्थित हुनुपर्ने र आवेदन फारम भरेको भर्पाई लिएर आउनुपर्ने त्यो नभए नागरिकताको प्रतिलिपी लिएर आउनुपर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका कर्मचारीहरूको भनाइ छ ।