चोरीमा संलग्न चार बालक पक्राउ

प्रकाशित मिति:

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चोरी तथा तोडफोडमा संलग्न रहेका चार जना बालकलाई पक्राउ गरेको जनाएको छ । कालीगण्डकी गाउँपालिका ७ मा रहेको मिर्मि बहुमुखी क्याम्पस र केही व्याक्तिहरुको पसल, मोटरसाईकल लगायतमा चोरी र तोडफोड गरेको आरोपमा संलग्न चार बालक पक्राउ परेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरीप्रसाद पौडेलका अनुसार पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका ७ का १८ बर्षिय, १६ बर्षिय, १६ बर्षिय र धादिङ जिल्ला घर भई सोही ठाउँमा बस्ने १६ बर्षिय बालक पक्राउ परेका हुन् । उनीहरुको नाम प्रहरीले गोप्य राखेको जनाएको छ ।

उनीहरुले मिर्मि बहुमुखी क्याम्पसको दोस्रो तलामा रहेको कम्प्युटर कक्ष र कार्यालयको ताल्चा फुटाई किर्बोड, माउस र कम्प्युटर पावर केवल चोरी गरेका थिए भने अन्य सामाग्रीहरु तोडफोड गरी क्षती पु¥याएका थिए । त्यसैगरी सोही स्थानमा ज्ञानप्रसाद न्यौपानेले संचालन गरेको स्केटिङ हाउसको ताल्चा फुटाई हाउसभित्र रहेका सामाग्रीहरु चोरी गरेका थिए ।सोही स्थानका नारायण प्रसाद अधिकारीको ग १ प ८३९८ र लु ४७ प ३४३८ नम्बरको स्कुटर तोडफोड गरी क्षती पुराएको, प्रविन ढकालको ग १४ प ५९० नम्वरको मोटरसाइकल घरदेखी २ किलोमिटर आँधीमुहानमा तोडफोड गरी फालेको अवस्थामा प्रहरीले फोला पारेको जनाएको छ । मिर्मि क्याम्पसको २ सय मिटर पश्चिम दिशामा रहेको ओडारमा किबोर्ड, कम्प्युटर पावर केबल, स्केटिङ जुत्ता र रियो जुस बोरामा राखेर लुकाइएको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । वडा प्रहरी कार्यालय वालिङले चोरी सम्बन्धी मुद्धा दर्ता गरेर कारवाही प्रक्रिया अगाडी बढाएको सूचना अधिकारी पौडेलले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।